
रानीपोखरी कर्नर टिम (आरसिटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको लिगको तेस्रो खेलमा आरसिटीले स्पष्ट ३ अंक बटुलेको हो । आरसिटीले नयाँ बस्तीलाई २–१ ले हराएको हो । आरसिटीले तीन खेलबाट ३ अंक बटुलेको छ । आरसिटी लिगको ११औँ स्थानमा छ । शीर्ष डिभिजन उक्लने लक्ष्य राखेको आरसिटीले यसअघि लगातार दुई खेल गुमाएको थियो ।
नयाँ बस्तीविरुद्ध आरसिटीले खेलको १०औँ मिनेटमा अग्रता लियो । आरसिटीका लागि प्रज्वल गुरुङले अग्रता दिलाएका थिए । उनले डिबक्सभित्र पहिलो बारमा गोल गरेका थिए । नयाँ बस्तीका लागि खेलको २१औँ मिनेटमा पूर्णबहादुर गुरुङले १–१ का लागि गोल गरे । पोस्टभन्दा २० यार्ड टाढाबाट उनले उत्कृष्ट बराबरी गोल फर्काएका थिए । पहिलो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन । मध्यान्तरपछि आरसिटी आक्रामक रूपमा प्रस्तुत भयो । खेलको ६४औँ मिनेटमा निखिल तामाङले आरसिटीलाई २–१ को अग्रता दिलाए । उनले नयाँ बस्तीका डिफेन्डरलाई सहज कटाएर गोल गरेका थिए । तीन खेलबाट नयाँ बस्तीको १ अंक छ । नयाँ बस्तीले दुई खेल गुमाएको छ ।
‘बी’ डिभिजन लिगअन्तर्गत टुसाल क्लबले तीन खेलमा अपराजित रहने क्रममा सरस्वती युथ क्लबलाई १–० ले हरायो । टुसालको जितमा एक मात्र गोल कमल विश्वकर्माले गरेका थिए । उनले सरस्वतीका गोलरक्षकलाई छक्याएर सहजै गोल गरे । ५ अंकका साथ टुसाल लिगको छैटौँ स्थानमा छ । लिगमा पहिलो हार सामना गरेको पूर्व ‘ए’ डिभिजन क्लब सरस्वती ६ अंकका साथ तेस्रो स्थानमा रह्यो । श्री भगवतीले दुई जित र एक बराबरी खेली दोस्रो स्थान रक्षा गरेको छ । प्रतियोगितामा प्लानिङ ब्वाइज ९ अंकका साथ शीर्ष स्थानमा छ ।