मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
२o८१ चैत १७ आइतबार १५:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विभेदविरुद्धको लडाइँमा वडाध्यक्ष रावल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार १५:४७:oo

अछामको पञ्चदेवल विनायक नगरपालिका– ६ तोलीका वडाध्यक्ष कमल रावलले निर्वाचित भएयता बधाई मात्र पाएनन्, त्यसको दोब्बर गाली पनि पाए । त्यो त्यही गाली हो, जसका कारण उनी छाउपडी, बालविवाह र जातीय विभेदविरुद्धको लडाइँमा छन् ।

गाउँकै धनवन्तरी माविमा आयोजित बाल कचहरीमा बोल्दै उनले आजित स्वरमा भने, ‘हेर्नुस् न जति सम्झाउँदा नि बालविवाह, छाउपडी र जातीय विभेदमा सोचेजति प्रगति भएन ।’ वडाध्यक्ष रावलले विभेदविरुद्धको लडाँइमा भोगेका असंख्य कथा सुनाए । जुन उनले वडाध्यक्ष भएकै दिनदेखि सुरु गरेको एकप्रकारको युद्ध हो ।

‘छाउगोठ भत्काउँदा हामीमाथि आक्रमण भयो, बालविवाह रोक्न खोज्दा धम्की आयो,’ उनले भने, ‘सार्वजनिक अपिल गर्दा पनि दलित समुदाय आफैँ डरले मन्दिर जाँदैनन्, भन्नुस् अब के गर्ने ?’ जात व्यवस्था र यसले निर्माण गरेको तीतो कथा, छाउपडी, मदिरा र बालविवाहजस्ता समस्याकै कारण वडाध्यक्ष रावलसहित प्रहरी, स्थानीय अगुवा र कर्मचारीहरू छापामार शैलीमा छाउगोठ भत्काउने र उमेर नपुग्दै विवाह गरेका किशोरी फर्काउने अभियानमा छन् । जुन अभियानका कारण बालविवाह घट्दै गएको छ ।

यो वडामा आर्थिक वर्ष ०७९/८० मा २७ जोडीले बालविवाह गरे भने ०८०/८१ मा त्यो संख्या १६ मा झर्‍याे । बालविवाहविरुद्धको लडाइँकै कारण यो वर्ष त्यो संख्या घटेर ११ मा आइपुगेको तथ्यांक छ । सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले जान्ने, बुझ्ने र पढेलेखेकाहरू आग्रसर भए यो अभियानले सबैखाले विभेद अन्त्य हुने बताए । ‘धारामा पानी छुन नदिने, गैरदलितको घरमा खाएपछि आफैँ भाँडा माझ्नुपर्ने, स्कुलमा छोइछिटो हुनेजस्ता विभेद त अहिले छैनन्,’ उनले भने, ‘तैपनि यसका केही अवशेष बाँकी नै छन् । छाउपडी र बालविवाहमा पनि सोचेजति सुधार भएन । यसमा जान्नेबुझ्नेहरूले बाधक बन्नुहुँदैन ।’

बाल कचहरीमा पुगेका इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दलाई लागेको थियो, गाउँमा विभेदको अवस्था भयावह होला र व्यापक गुनासो आउलान् ।

तर, तोली पुगेपछि उनले ठुलै अपराधका रूपमा सामाजिक विभेद भएको पाएनन् । यद्यपि, उनले जातीय विभेद, छाउपडी, बालविवाह, जुवातास र मदिराबारे कुनै समस्या आए तत्काल प्रहरीलाई खबर गर्न स्थानीयलाई आग्रह गरे । ‘यसप्रकारका कुनै समस्या भए खबर गर्नुहोला,’ उनले भने, ‘विभेद गर्न पाइँदैन, गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ ।’ छाउपडी र बालविवाहमा शतप्रतिशत सुधार हुन नसके पनि बाल विकास, बाल समृद्धि र बाल सरोकारमा भने उल्लेख्य प्रगति भइरहेको देखिन्छ ।

वर्ल्डभिजन र आस्था नेपालमार्फत त्यसबारे समुदायस्तरमै रुपान्तरण कक्षा सञ्चालन गरेर उनीहरूलाई प्रशिक्षण दिने गरिएको सामाजिक परिचालक सुशील बटालाले बताए । कचहरीमा सहभागी इलाका प्रशासन कार्यालय विनायकका सुब्बा मनबहादुर बडुवाल, धनवन्तरी माविका प्रधानाध्यापक अक्कलबहादुर रावल र बाल सञ्जालकी अध्यक्ष मीना विकलगायत महिला, बालबालिका र अन्य सरोकारवालाहरूले विभेद अन्त्यको माग गरेका थिए । त्यसका लागि स्थानीय सरकारले विशेष नीति निर्माण गर्नुपर्ने उनीहरूको सुझाव छ ।