
आज दिउँसो १ बजेबाट बस्ने भनिएको बागमती प्रदेश सभा बैठक ४ बजेका लागि सारिएको छ । आज बिहान ९ बजेदेखि बसेको सर्वदलीय बैठकमै सहमति जुट्न नसकेपछि प्रदेश सभा बैठक ४ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
दिउँसो १२ बजे केहीबेर रोकिएको सर्वदलीय बैठक अहिले पनि चलिरहेको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच विगतको बजेटमाथिको सहमतिका विषयमा छलफल भइरहेको छ ।
प्रदेश सभामा प्रतिपक्षी दलहरूले प्रदेश सरकारले विगतमा गरेका सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै सदन सञ्चालन हुन नदिने अडान राख्दै आएका छन् । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको सक्रियतामा बसेको सर्वदलीय बैठकमा बिहानैदेखि छलफल भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत अन्य दलले विगतमा भएको बजेटको सहमति कार्यान्वयन नभए सदन चल्न नदिने अडान राखेका छन् । यस्तै सर्वदलीय छलफलमा प्रदेशका गरिबी निवारण तथा सहकारीमन्त्री मधुकुमार श्रेष्ठका स्वकीय सचिवको आत्महत्याको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरिएको छ ।