
पर्यटन, व्यापार र शिक्षा क्षेत्रमा सहकार्यका साथै बौद्ध संस्कृति एवं परम्पराले निकट बनाएको नेपाल र थाइल्यान्डबिचको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री केपी ओलीको मंगलबारदेखि प्रारम्भ हुने थाइल्यान्डको औपचारिक भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
नेपाल र थाइल्यान्डबिच सरकारी तहमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ सम्बन्ध छ । थाइल्यान्डमा नेपाली मूलका करिब ८० हजार नागरिकको बसोबासले पनि दुई देशबिचको अनुपम सम्बन्धलाई झल्काउँछ । सांस्कृतिक सभ्यताका मूल्यमान्यताले जोडिएको थाइल्यान्डसँगको नेपालको सम्बन्ध आपसी सद्भाव र समझदारीमा आधारित छ । ३० नोभेम्बर १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो अझ सुमधुर बन्दै गएको छ ।
भगवान् बुद्धका उपदेश र त्यसबाट विकास भएका मूल्य-मान्यता नेपाल र थाइल्यान्डका जनतालाई आपसमा जोड्ने एक प्रमुख कडीका रूपमा रहेका छन् । थाइल्यान्डका जनताका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पवित्र तीर्थस्थल हो । पारस्परिक सम्बन्धलाई धार्मिक रूपमा सबल बनाउन लुम्बिनीमा थाइल्यान्ड सरकारले बौद्ध विहार पनि निर्माण गरेको छ ।
राजा जनक र जनकपुरप्रति थाई जनताको अगाध आस्था र श्रद्धा रहेको पाइन्छ । पछिल्लो समय पर्यटन, सामुद्रिक क्षेत्रको अवलोकन, अध्ययन र व्यापारका लागि थाइल्यान्ड जाने नेपालीको संख्या बढ्दो रहेको बैंककस्थित नेपाली राजदूत धनबहादुर ओलीले बताए । नेपाल र थाइल्यान्डबिचको व्यापारिक आदान–प्रदानले पनि दुई देशबिचको सम्बन्धलाई सघन बनाउन सघाएको छ । थाई नागरिकले नेपालको उत्पादन तथा पर्यटन उद्योगमा लगानी गरेका छन् ।
यद्यपि, थाइल्यान्डसँग नेपाल व्यापार घाटामा छ । नेपालबाट जडीबुटी, हस्तकलाका सामान, छुर्पी, नेपाली कागज, अल्लोका कपडा निर्यात हुन्छन् भने थाइल्यान्डबाट विद्युतीय उपकरण, मोटरकारलगायत सवारीसाधनका सामान, तयारी पोसाक र फलफूल आयत हुँदै आएको छ । थाई नागरिक नेपालको भ्रमणमा पनि आउने गरेका छन् । सन् २०२३ मा २५ हजारभन्दा बढी थाई पर्यटक नेपाल आएका थिए ।