
कार्यालयको सिसाबाट भित्रिएका ढुंगा टेबुलनजिकै बज्रिएपछि तीनकुनेस्थित सिटी भेटेनरीका डाक्टर विवेक यादव झस्किए । कुर्सीबाट उठेर उनले सडकतर्फ नियाले । ‘अश्रुग्यासको राप आँखैमा पर्यो । दुई हातले मिचेर आँखा के खोल्दै थिएँ, कार्यालयका सबै सिसा झर्यामझुरुम भएर सडकमा झरे,’ उनले शुक्रबारको हिंसात्मक घटना सुनाए । आत्तिएका उनी सहयोगीसँगै कार्यालयको अर्को कोठामा प्रवेश गरे, जहाँ जनावर राख्ने खोर थिए । उनी त्यही खोरभित्र छिरे । अराजक भिडले प्रहार गरेका ढुंगाबाट टाउको बचाए । ‘खोरमा छिरेको आधा घण्टापछि कोठामा अत्यधिक तातो भएको महसुस भयो । डढेकोजस्तो गन्ध पनि आउन थाल्यो । कोठाको राप सहनै नसकिने गरी बढ्न थालेपछि कैँची गेट खोलेर भर्याङतर्फ निस्किएँ, जहाँ सयभन्दा धेरै व्यक्ति ज्यान जोगाउन लुकिरहेका थिए ।’
धुवाँ र तातोले भर्याङ गुम्सिएको थिए । बाहिर सडक रणमैदानमा बदलिएको थियो । उनीसँग दुई विकल्प थिए । कि भर्याङमै निसास्सिने, कि अन्धाधुन्ध ढुंगा प्रहार भइरहेको सडकमा ओर्लिने । दुवैमा ज्यानको बाजी लगाउनु थियो । ‘मैले दोस्रो विकल्प रोजेँ । भर्याङको भिड ठेल्दै सडकमा झरेँ । सँगै जोडिएको घर दनदनी बलिरहेको थियो । भाग्यले घटनास्थलबाट केही पर सुरक्षित पुग्न सकेँ । बल्ल बाँचिएको अनुभूति गरेँ ।’
सिटी भेटेनरीभन्दा ठिक माथिल्लो तलामा साइनटेक नेपालको कार्यालय थियो । साइनटेक नेपालका सञ्चालक रवीन्द्र ओझाको भोगाइ अझ दर्दनाक भयो । कार्यालयको सिसामा ढुंगा बर्सिन थालेपछि ओझाले छतमा उक्लिएर सडकतर्फ नियाले । तल परिवारका सदस्य थिए । तत्काल तल झरेर ढोका लगाए । ‘७० वर्षीया आमा, १० वर्षीय छोरा र श्रीमती सोफामा थिए । त्रासका कारण उनीहरू निशब्द थिए । कार्यालयको गेटमा पुगेर कैँची गेटमा ताला लगाएँ । तर, एक्कासि आगोको राप माथिसम्मै आइपुग्यो, धुवाँले खपिनसक्नु भयो । फेरि छतमा उक्लिएर हेर्दा जोडिएको अर्को घरबाट धुवाँको मुस्लो उडिरहेको देखेँ,’ उनले भने ।
छतमा पुगेर आडैको घरमा आगोको मुस्लो र रणमैदान बनेको सडक देखेपछि उनले परिवारै एकै ठाउँमा सिद्धिन सक्ने अनुमान लगाए । उनीहरू परिवारै बाहिर निस्किने निर्णयमा पुगे । ‘खचाखच भिड रहेको भ¥याङका मान्छे ठेल्दै वृद्धा आमालाई हातले च्यापेर तल झरेँ, श्रीमतीले छोरालाई बोकेर झरिन् । भ¥याङभरि छरिएका सिसाका टुक्राले खुट्टा रक्ताम्य बन्यो । जसोतसो घरबाहिर सडकमा पुग्यौँ,’ उनले भने ।
सडकमा भयावह थियो । उनले अब सुरक्षित स्थानमा पुग्ने कसरत गरे । ‘सडकमा पुग्नेबित्तिकै अश्रुग्यास आमाको टाउकोमा बज्रियो । तैपनि जसोतसो सुरक्षित स्थानतर्फ पुग्यौँ,’ ओझाले भने, ‘हाम्रो परिवारले पुनर्जन्म पायो । घरबाट निस्किन थोरै ढिला गरेको भए परिवारको एकै चिहान हुनेरहेछ । अहिले युद्धभूमिबाट बाँचेझैँ अनुभूति भएको छ ।’
आन्दोलनमा होमिएको भिडलाई ज्यानको परवाह थिएन । उनीहरू निस्किएपछि भिड कार्यालय प्रवेश गरेको थियो । डा. यादवका अनुसार कार्यालयमा रहेका ल्यापटप, भ्याक्सिन, फ्रिज, युएजी मेसिन, ब्लड एनालाइजरलगाय अत्याधुनिक सामग्री लुटिएका छन् भने काउन्टरमा रहेको ५० हजार पनि लुटियो । भेटेनरी लुटेपछि माथिल्लो तलमा उक्लिएको भिडले साइनटेक नेपालको कार्यालयबाट पनि ल्यापटपलगायत सामग्री लुट्यो । ‘हामी निस्किेपछि अराजक भिड कार्यालय छिरेछन् । तीनवटा ल्यापटप थियो । अन्य विभिन्न खालका डिभाइस थिए । ती सबै लगेछन्,’ ओझाले भने ।
भिड त्यतिमै सीमित रहेन, नजिकै रहेको रोयल ब्यांक्वेट पुगेर पनि तोडफोडमा उत्रियो । काउन्टरमा रहेको रकम लुट्यो । तीनकुने क्षेत्रमा मात्रै व्यक्तिगत र सरकारी गरी १८ घरमा तोडफोड भएको छ । कोटेश्वर पुगेर भाटभटेनी सुपरस्टोरमा लुटपाट ग¥यो । स्टोर म्यानेजर मुना राईले एक करोडभन्दा धेरै मूल्यको सामग्री लुटपाट भएको बताइन् ।
प्रहरीका अनुसार आन्दोलनकारीले प्रहरीका ६, सरकारी कार्यालयका चार र ६ निजी गाडीमा पनि आगो लगाए । घटनामा कीर्तिपुरका सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको अनाहकमा ज्यान गयो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले शनिबार साँझसम्म घटनामा संलग्नमध्ये १०५ जना पक्राउ परेको र बाँकीको खोजी भइरहेको बताए ।
पत्रकार सुरेश रजक रहेको कोठामा कसले लगाएको थियो ताला ?
राजावादी आन्दोलनको भिडियो खिचिरहेका वेला आन्दोलनकारीले आगजनी गर्दा घरभित्रै जलेर एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको ज्यान गयो । उनले भिडियो खिचिरहेको ठाउँमा अन्य व्यक्तिहरू रहेको भिडियो क्लिपहरू पनि सार्वजनिक भएका छन् । घरको अगाडि भागमा राखिएका सिसा क्षतविक्षत हुँदासम्म उनी भिडियो खिचिरहेका देखिन्छन् ।
एउटा अराजक भिड भवनको भर्याङतर्फ गएको, रजक रहेको कोठाबाहिरबाट ताल्चा मारेको पनि सार्वजनिक भिडियो क्लिपहरूमै देखिन्छ । घरका चोटाकोठासम्म आगजनी गरेर विजयभावमा भिड सडकमा झर्दासम्म पनि भिडियो खिच्नमै तल्लीन रजकको अन्ततः कोठाभित्रै ज्यान गयो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको, तर रजक रहेको कोठामा कसले ताला लगाइदियो भन्ने अझै खुल्न नसकेको काठमाडौं परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । ‘पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि भयो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । कोठामा कसले ताला लगायो भन्ने विषयमा प्राविधिक अनुसन्धान भरहेको छ,’ उनले भने ।
तीनकुनेका घरधनीको माग– जसले जलाएको हो, उसैले घर बनाइदिनुपर्छ
नयन क्षेत्री, घरधनी
राजावादी प्रदर्शनमा तीनकुनेका ६ तले दुईवटा भवन छियाछिया भएका छन् । उक्त घर घरधनीले भाडामा लगाएका थिए । एउटामा विभिन्न १० कार्यालय सञ्चालनमा थिए भने अर्कोमा इन्द्रेणी सहकारी थियो । १० कार्यालय भएको घरका धनी नयन क्षेत्रीले आफूले भोग्नुपरेको क्षति आन्दोलनरत समूहले व्यहोर्नुपर्ने र त्यसका लागि राज्यले पहल गरिदिनुपर्ने माग गरे । ‘घरमा तोडफोड र आगलागी हुँदा बाहिर थिएँ, सामाजिक सञ्जाल हेरेर थाहा पाएँ, यतिसम्म होला भन्ने कल्पनै थिएन, अनि आन्दोलनमा व्यक्तिको घर निसाना बनाएको पाइयो, राजनीतिको नाममा मेरो घर तोडफोड भएको छ, यो अराजकता हो,’ उनले भने, ‘यो घर २१ वर्षअघि बनाएको थिएँ । यहाँ १० वटाजति कार्यालय थिए, सबै कार्यालयका डकुमेन्ट, फर्निचरलगायत जलेर नष्ट भएको छ । जे–जति क्षति भएको छ, त्यसको क्षतिपूर्ति आन्दोलनरत पक्षले तिर्नुपर्छ ।’