मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
२o८१ चैत १६ शनिबार o९:१६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नौबस्ता औद्योगिक क्षेत्रमा थालियो सडकको ट्रयाक निर्माण 

०८२ मा सक्ने लक्ष्य, तर हालसम्म डिपिआर मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o९:१६:oo

१ चैत ०७२ मा बैजनाथ गाउँपालिका– २ र ३ मा नौबस्ता औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारको निर्णय थियो । सो निर्णय कार्यान्वयन गर्न २७ जेठ ०७३ मा सो क्षेत्रको पाँच सय ३८ बिघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा ल्याइएको थियो । त्यसयता औद्योगिक क्षेत्र निर्माणका लागि चासो नदिँदा संरचना निर्माणको प्रगति शून्य छ भने औद्योगिक प्रयोजनका लागि लिइएको जग्गामध्ये दुई सय ५२ बिघा मिचिएको छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली नेतृत्वको टोलीले गत सोमबार नौबस्ता पुगेर सडकको ट्रयाक खोल्ने काम सुरु गरेको छ । ‘बैजनाथ गाउँपालिकाले गरेको निर्णयअनुसार औद्योगिक क्षेत्रको परिपरि सडकको ट्रयाक खोल्ने काम सुरु भएको छ । ट्रयाक खोल्ने काम सकिएलगत्तै तारबार गर्ने योजना छ,’ उनले भने । उनका अनुसार ५५.६ बिघामा बस्ती, नौ बिघामा कारागार, २० बिघामा सशस्त्र प्रहरीको तालिम केन्द्र र बौद्ध गुम्बाले केही जमिन ओगटेको उनले जानकारी दिए ।

नौबस्तामा आउन तीन सयभन्दा बढी उद्योगले आशयपत्र बुझाए पनि पूर्वाधार तयार नहुँदा अनुमति दिन नसकेको उनले बताए ।

‘यहाँ निर्माणमा ढिलाइ भएका कारण उद्योगहरू  अन्यत्र स्थापना भइरहेका छन्,’ उनले भने । प्रशासन, जनप्रतिनिधि, औद्योगिक क्षेत्र र स्थानीयलगायत सरोकारवाला पक्षसँगको छलफलपछि निर्माणको काम सुरु भएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहले बताए । ‘केही स्थानीयले विरोध गरेका छन्, तर काम रोकिँदैन,’ उनले भने । ०७७ देखि सुरु गरेर पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिए पनि हालसम्म डिपिआरबाहेक केही काम भएको छैन । अहिले जग्गा नै घटेकाले पुनः डिपिआर गर्नुपर्ने आवश्यकता छ ।

पदम ओली, महाप्रबन्धक, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
यहाँ उद्योग चलाउन तीन सयभन्दा बढी उद्योगीले आशयपत्र बुझाएका छन् । स्थानीयको विरोध र राजनीतिक दलको उदासीनताका कारण समयमा काम गर्न नसक्दा आउन चाहने उद्योग अन्यत्र गएका छन् । नौबस्तामा औद्योगिक क्षेत्रमा दुई सय ५२ बिघामा खुम्चिएको छ ।