मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
२o८१ चैत १६ शनिबार o८:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कपको फाइनल आज : पुलिसविरुद्ध बदला लिने आर्मीलाई अवसर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o८:४८:oo

गत संस्करणको फाइनलमा पुलिससँग व्यहोरेको हारको बदला लिने तयारीमा आर्मी

आठौंँ संस्करणको प्रधानमन्त्री एकदिवसीय क्रिकेट (पिएम कप) प्रतियोगिताको उपाधिका लागि शनिबार दुई विभागीय टोलीबिच प्रतिस्पर्धा हुँदै छ । सिद्धार्थ क्रिकेट मैदानमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब फाइनलमा आमने–सामने हुन लागेको हो । पुलिस उपाधि रक्षा गर्ने योजनामा रहँदा आर्मी भने दोस्रोपटक च्याम्पियन दाउमा देखिन्छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो ।

पुलिसका दीपेन्द्रसिंह ऐरी र आर्मीका विनोद भण्डारीले कप्तानी गर्नेछन् । आर्मीले सन् २०२०/०२१ को संस्करण पहिलोपटक जितेको थियो । पुलिसले पहिलोपटक सन् २०१९ मा उपाधि हात पारेको थियो । प्रधानमन्त्री कपको सर्वाधिक विजेता नेपाल एपिएफ क्लब हो । एपिएफले तीनपटक उपाधिमाथि कब्जा जमाएको छ । आर्मीलाई हराउँदै पुलिसले एपिएफको रेकर्ड बराबरी गर्नेछ । आर्मीले फाइनल जित्दा पुलिसको रेकर्ड बराबरी गर्नेछ । 

भैरहवामा हुने उपाधि भिडन्तमा जोकोही विजेता भए पनि रेकर्ड बन्ने निश्चित छ । नेपाल क्रिकेट संघले मोफसलका विभिन्न तीन सहरमा प्रतियोगिता आयोजना गर्दा पुलिसले लगातार आठ खेल जित्दै सुरुमै फाइनल स्थान सुरक्षित गरेको थियो । लिगको अन्तिम खेलमा पुलिसमाथि सानदार जित निकाली आर्मीले अन्तिम दुई स्थान सुरक्षित गर्‍यो । पुलिस र आर्मीबिचको अन्तिम खेलको नतिजाको प्रतीक्षा एपिएफले गरेको थियो । आर्मी भारी अन्तरले पराजित हुँदा एपिएफले पुलिसविरुद्ध उपाधि भिडन्त पक्का गर्ने थियो । 

तर, आर्मीले एपिएफको चौथोपटक फाइनल खेल्ने योजना बिथोल्दै दोस्रोपटक अन्तिम दुई स्थान पक्का गर्‍यो । यद्यपि, आर्मीलाई फाइनल त्यति सहज हुनेछैन । उपाधि भिडन्तमा पुगिसक्दा पुलिसले आर्मीविरुद्धको खेलमा कमजोर प्रदर्शन गर्‍यो । फाइनलअघि शुक्रबार भैरहवामा आयोजित प्रिपोस्ट म्याचमा पुलिस र आर्मीका कप्तानहरूले उपाधि जित्ने दाबी गर्दै एक–आपसमा भिड्न तयार भएको जनाए ।

‘हामी पुनः एकपटक ट्रफी उचाल्न तयार छौँ,’ आर्मीका कप्तान भण्डारीले भने, ‘सबै खेलाडी फर्ममा छन् ।’ पुलिसका कप्तान ऐरीले खेलाडीहरूले फाइनलमा रणनीतिअनुसार खेल्ने बताए । ‘अघिल्लो खेलमा पराजित भए पनि उपाधि भिडन्तमा आर्मीलाई चुनौती दिन तयारी अवस्था हामी छौँ,’ ऐरीले भने । 

खेलाडी उत्साहित
क्यानले पछिल्लो समय महत्वपूर्ण राष्ट्रियस्तरका प्रतियोगिता केन्द्रमा नभएर मोफसलमा गरिरहेको छ । क्यानका संस्थापक अध्यक्ष जयकुमारनाथ शाहको स्मृतिमा आयोजित जय ट्रफी पनि यसपटक मोफसलमै भयो । यसैगरी, महिला राष्ट्रिय प्रधानमन्त्री कप सुदूरपश्चिममा भएको थियो । अब पुरुषतर्फको पिएम कप मोफसलका तीन सहरमा आयोजित भए । पुलिस र आर्मीका कप्तानले मोफसलमा प्रतियोगिता आयोजना हुँदा क्रिकेटमा खेलाडी उत्साहित भएको बताएका छन् । 

‘काठमाडौंबाहिर सबै खेल हुँदा क्रिकेटमा नयाँ उत्साह ल्याएको छ, विगतको भन्दा यसपटक भैरहवाको मैदानको पिच राम्रो रह्यो,’ भण्डारीले भने, ‘नियमित काठमाडौंमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी छ ।’ पुलिसका कप्तान ऐरीले क्रिकेट विकेन्द्रीकृत भएर विकास भएकोमा खुसी देखाए । ‘जय ट्रफी भयो, पिएम कप यसपटक लुम्बिनी प्रदेशमा भयो,’ उनले भने, ‘यस्ता धेरै खेल बाहिर भएका छन्, क्रिकेटको विकास र विकेन्द्रीकृत भइरहेको छ ।’