
आन्तरिक उडान पोखरा, भैरहवालगायत गन्तव्यमा डाइभर्ट, अन्तर्राष्ट्रिय विमान भने एक घण्टाभन्दा बढी आकाशमै होल्ड गराएर अवतरण
शुक्रबार आन्दोलनमा उत्रिएका राजावादीको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरका संरचनामा आगजनी गर्दा ४० मिनेट उडान–अवतरण ठप्प भएको छ भने केही विमानस्थललाई आकाशमै होल्डसमेत गराइएको थियो ।
विमानस्थलवरिपरि धुवाँको मुस्लो निस्किएपछि करिब ४० मिनेट उडान बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी र तीनकुनेका निजी भवनमा आगो लगाएका थिए । त्यस्तै, कोटेश्वर चोकदेखि तीनकुने हुँदै विमानस्थल प्रवेशद्वारसम्म टायर बालेर प्रदर्शन गरेका थिए । जसकारण कालो धुवाँले आकाश डाकेर विमान उडान र अवतरणमा असर पुगेको निरौलाले जानकारी दिए ।
प्रदर्शनकारीले अवतरण गर्न लागेका विमानमा असर गर्न सक्ने भयले केही समय सेवा नै रोकेको नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । ‘अवतरण गर्न लागेका जहाजहरू कोटेश्वर क्षेत्रमा जमिनबाट निकै नजिक हुन्छन्,’ उनले भने, ‘अर्कोतिर वरिपरि लगाइएको आगोबाट धुवाँको मुस्लो निस्किँदा भिजिबिलिटी कम भयो र आगलागीको पनि डर भयो ।’
विमानस्थल पूरै बन्द गरिँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित हुन पुगेको उनले बताए । काठमाडौं आइरहेका सातवटा आन्तरिक विमान पोखरा, भैरहवालगायत ठाउँमा डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । ‘अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गर्नु त परेन, तर आकाशमा घण्टौँ फन्को मारेर साँझपख अवतरण गराइयो,’ उनले भने ।