
इन्डियन प्रिमियर लिग (आइपिएल)मा शुक्रबार रोयल्स च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्समाथि ५० रनको सानदार जित निकालेको छ । चेन्नईको घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाएर एक सय ९६ रन जोडेको थियो । प्रत्युत्तरमा चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रन जोड्दा बेंग्लोरले बाजी मारेको हो । चेन्नईको घरेलु मैदानमा बेंग्लोरले आइपिएल इतिहासमा दोस्रोपटक जित निकालेको हो ।
बेंग्लोरले चालू आइपिएलमा लगातार दोस्रो जित निकालेको हो । चेन्नईले दुई खेलमा समान एक जित र हार सामना गरेको छ । चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनीले आइपिएलमा टोलीका लागि सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका छन् । उनले बंग्लोरविरुद्ध १६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका थिए । यससँगै उनले सुरेश रैनाले चेन्नईका लागि राखेको व्यक्तिगत चार हजार ६ सय ८७ रनको रेकर्ड तोडे । धोनीले चार हजार ६ सय ९९ रन बनाए ।
बेंग्लोरको पहिलो ब्याटिङमा रजत पतिदारले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । ओपनर फिल साल्टले १६ बलमा ३२ रन तथा विराट कोहलीले ३० बलमा ३१ रन बटुले । मध्यक्रमका टिम डेमिडले आठ बलमा तीन छक्का र एक चौका प्रहार गरी २२ रन बटुले । बलिङमा चेन्नईका लागि नुर अहमादले ३६ रनमा तीन विकेट लिए । लक्ष्य पछ्याएको इनिङ्समा चेन्नईका ओपनर रचिन रभिन्द्राले ३१ बलमा ४१ रन जोडेका थिए । यसैगरी, शिव दुवेले १९ रन तथा रवीन्द्र जडेजाले २५ रनको योगदान दिए ।