मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
तीनकुनेस्थित अन्नपूर्ण पोस्ट
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १६ शनिबार o७:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजावादीको निसानामा पत्रकार र सञ्चार गृह

लाइभ रिपोर्टिङ गर्दागर्दै जलेर ज्यान गुमाए सुरेश रजकले,  आज माइतीघरमा पत्रकार महासंघको विरोधसभा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o७:४७:oo

राजसंस्थाको पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिएका राजावादी प्रदर्शनकारीको निसानामा पत्रकार र सञ्चार गृह पनि परेका छन् । व्यवसायी दुर्गा प्रसाई नेतृत्वमा आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ । आन्दोलनको भिडियो खिचिरहेको तीनकुनेस्थित मार्बल हाउसमा प्रदर्शनकारीले आगो लगाएपछि उनको मृत्यु भएको हो । आगो सल्किने वेलासम्म उनी लाइभ गरिरहेका थिए । भवनमा आगो दन्किएपछि सशस्त्र प्रहरी बलको दमकल पुगे पनि चालकलाई लक्षित गरी ढुंगा प्रहार भएको थियो । दमकल फर्कियो । र, रजकको भवनभित्रै जिउँदै जलेर ज्यान गयो ।

एभिन्युज टेलिभिजनका सञ्चालक भास्करराज राजकर्णिकारले आगलागी भएको भवनभित्र पत्रकार रजक फसेको जानकारी प्रहरी प्रशासनलाई गराइए पनि समयमै उद्धार हुन नसक्दा ज्यान गएको बताए । सशस्त्र प्रहरीले भवनभित्र कोही नरहेको बताउँदै आफूहरूलाई पनि जान नदिएको बताउँदै उनले भने, ‘हामी सहकर्मी जलेको लाइभ गरिरह्यौँ, केही गर्न सकेनौँ ।’

त्यस्तै, प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीको हतियार खोसिरहेको तस्बिर खिचेका अनलाइन खबरका पत्रकार दिनेश गौतमलाई आन्दोलनकारीले फोटो किन खिचेको भन्दै कुटपिट गरेका छन् । कुटपिटबाट गौतमको बायाँ खुट्टा भाँचिएपछि उनको उपचार भइरहेको छ । आक्रमणमा परी फोटोपत्रकार राजु थापा पनि घाइते भएका छन् । 

आन्दोलनकारीले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा प्रहार हुनुका साथै आगजनीको प्रयास पनि गरेका थिए । हिमालय टेलिभिजनको गाडी पनि तोडफोड गरेका छन् ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीको ज्यानै जाने गरी हमला हुनु आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य बताएका छन् । महासंघले आन्दोलनका नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार नहुने भन्दै संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ । साथै, क्षति पु¥याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रहसमेत गरेको छ । महासंघले पत्रकार जलेर मृत्यु भएको प्रकरणको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेको छ । 

त्यस्तै, प्रेस चौतारी नेपालले घटनाको भर्त्सना गर्दै संलग्न दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । समाजवादी प्रेस संगठनले प्रेस स्वतन्त्रता विरोधी हर्कतको निन्दा गर्दै दोषीलाई कडा कारबाही र पत्रकारको प्रभावकारी सुरक्षा प्रबन्ध गर्न माग गरेको छ । 

संसदीय मामिला पत्रकार समाजले पनि सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । 

फोटो पत्रकार क्लबले पनि विज्ञप्ति जारी गरी सञ्चारकर्मी र सञ्चार गृहमाथि भएको आक्रमण निन्दा गरेको छ । सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमण गर्नेहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ । 

स्थापना दिवस प्रभावित
पत्रकार महासंघले स्थापना दिवसका अवसरमा शनिबारका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । स्थापना दिवसलाई पत्रकारको ज्यान लिनेगरी भएको घटना र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिले शनिबार बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर पत्रकारको ज्यान जानेगरी भएको घटना र सञ्चारमाध्यममाथि भएको ज्यादतीविरुद्ध विरोधसभा गर्ने महासचिव रामप्रसाद दाहालले बताए ।