
राजधानी काठमाडौंमा प्रदर्शनका कारण शुक्रबार बिहान माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्यामा परेका शिक्षकसहित १५२ विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्याएको छ।
परीक्षा दिएर घर फर्कन सवारीसाधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आह्वान गरेको थियो। त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र (बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु)मार्फत विद्यार्थी तथा शिक्षकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याएको महानगरले जनाएको छ।
काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहबिच प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो। त्यही कारण कतिपय विद्यार्थी परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए।