
काठमाडौंको टोखा नगरपालिकाले मुटुरोग उपचारका लागि नगरवासीलाई रु. ५० हजारसम्म उपलब्ध गराउने भएको छ। नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ को हिउँदे नगरसभाबाट संशोधन गरेर रु. १० लाख बजेटबाट नगरवासीलाई मुटुरोग उपचारमा रु. ५० हजारसम्म सहयोग गर्न लागेको हो।
टोखाले नगरवासीलाई मुटुरोग उपचारका लागि आइतबार सहिद गंगालाल हृदयरोग केन्द्रसँग सम्झौतासमेत गरेको छ। सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख प्रकाश अधिकारी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा रवि मल्लले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख अधिकारीले मुटुरोग उपचारका लागि नगरवासीलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रमलाई अगाडि बढाइएको बताए। ‘टोखाले वडाको सिफारिसका आधारमा प्रतिव्यक्ति रु. २५ हजार र गरिब तथा विपन्न वर्गका लागि रु. ५० हजारसम्म सहयोग गर्ने गरी सम्झौता गरेको छ, यसले टोखाका बासिन्दालाई थोरै भए पनि मुटुरोगको उपचारमा सहयोग पुग्नेछ,’ नगरप्रमुख अधिकारीले भने।
उक्त सेवा लिनका लागि नगरवासीले स्थायी बसोबास गरेको देखिने नागरिकताको प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, अतिविपन्न नागरिक भएको वडा कार्यालयको सिफारिसपत्र आवश्यक पर्नेछ। यस्तै, नगरभित्र स्थायी बसोबास गर्ने जोसुकैले पनि मुटुको उपचार गर्दा रु. २५ हजार सहयोग पाउनेछन्।
बिरामीको उपचार गरेपश्चात् सम्झौताअनुसारको रकम लिनका लागि अस्पतालले नगरपालिकामा आवश्यक कागजात पेस गरेर मात्र लिन सक्ने व्यवस्था सम्झौतापत्रमा उल्लेख गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक प्राडा मल्लले नगरपालिकाको सम्झौताअनुसार अस्पतालले सेवा प्रदान गर्ने बताए।
कार्यक्रममा टोखाका उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीसहित टोखाका वडाध्यक्षहरूको सहभागिता रहेको थियो।