
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नो मौनताको फाइदा उठाएको बताएका छन्।
पाँच महिनापछि पार्टीको कार्यकारी जिम्मेवारीमा फर्केका लामिछानेले सोमबार पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै सरकारकै कारण मौनता भंग गरेको बताए।
आफ्नो मौनताको फाइदा उठाउँदै सरकारले टाउकोमाथि तरबार झुन्ड्याए जसरी एउटा जिल्लाको मुद्दा अदालतमा पेस नै नगरी राखेको उनको भनाइ थियो।
‘मैले सोचेको थिएँ केही समय अझै शान्त बसौँ। तर, सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दासमेत नबुझाएर राखेको छ,’ उनले भने।
आफू जुनसुकै शक्तिसँग पनि लड्न तयार रहेको बताउँदै लामिछानेले वर्तमान सरकारको लुटलाई टुलुटुलु हेरेर नबस्ने प्रस्ट पारे।
उनले भने, ‘यिनलाई लागेको छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने चुपचाप बस्छ, यो डराउँछ । कुनै पनि वेला शिरमाथि लागेको तरबार खसाल, म थाप्न तयार भएर बसेको छु।’