मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
अजित अधिकारी काठमाडाैं
Invalid date format o६:५o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारकै संरक्षणमा कार्टेलिङ : फेरि बढाइयो डन्डी र सिमेन्टको भाउ

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५o:oo

स्टिल उद्योगीले कार्टेलिङ गरेर फेरि डन्डीको भाउ प्रतिकिलो सात रुपैयाँ बढाएका छन् । उनीहरूको कार्टेलिङलाई सरकारको निरन्तर संरक्षण छ । 

निर्माण सामग्री (हार्डवेयर) व्यापार संघ काठमाडौंका उपाध्यक्ष दिलबहादुर श्रेष्ठका अनुसार काठमाडौंमा फलामे छड (डन्डी)को उपभोक्ता मूल्य प्रतिकिलो एक सय १२ रुपैयाँ पुगेको छ । त्यसअघि डन्डीको भाउ प्रतिकिलो एक सय पाँच रुपैयाँ थियो । ‘दैनिकजस्तो भाउ बढिरहेको छ । त्यसैले हामीले मागेजति सामग्री पाउनै सकेका छैनौँ,’ उनले भने, ‘जति सामग्री खरिदका लागि भुक्तानी गरेको हो, त्यति सामग्री पनि पाएका छैनौँ ।’ 

उनका अनुसार भुक्तानी गरेको दिन डन्डी नपाएर केही दिन पर्खनुपर्‍यो भने बढेको भाउ तिर्नुपर्ने बाध्यता छ । ‘पहिले नै अर्डर गरेको सामान किन्न पनि पैसा थपेर मात्रै ल्याउनुपर्ने बाध्यता छ । उद्योगीले कार्टेलिङ गरेर खुलेआम भाउ बढाइरहे पनि कतैबाट हस्तक्षेप भएको छैन,’ श्रेष्ठले भने । उनले उपभोक्तालाई दैनिक भाउ बढिरहेको भन्दै सम्झाउन पनि गाह्रो हुन थालेको गुनासो गरे ।

ठुला पूर्वाधारको निर्माण सिजन सुरु हुने मुख्य सिजनमा भाउ बढेको भन्दै निर्माण व्यवसायीले सरकारको पटक–पटक ध्यानाकर्षण गराए पनि सरकारी निकायले मूल्यमा हस्तक्षेप गर्न सकेका छैनन् । बरु, उद्योगीको संरक्षणमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अभिव्यक्ति दिइरहेका छन् । 

कार्टेलिङ गरेर मूल्यवृद्धि गर्दा मन्त्रीको निरन्तर साथ पाएका उद्योगीले १८ फागुनसम्म ८७ रुपैयाँ रहेको डन्डीको भाउ पटक–पटक गरेर प्रतिकिलो २५ रुपैयाँ वृद्धि गरिसकेका छन् । सिमेन्टको कृत्रिम मूल्य वृद्धिमा जस्तै उद्योगमन्त्री भण्डारीले डन्डीको भाउ नियन्त्रणमा पनि चासो दिएका छैनन् । बरु, संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा पुगेर मन्त्री भण्डारीले ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर केको पक्षमा बोल्ने ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । 

अर्कोतर्फ, सिमेन्टको भाउ नियन्त्रण गर्न गत ९ माघको सार्वजनिक लेखा समितिको बैठक निर्देशनलाई पनि मन्त्री भण्डारीले अटेर गरेका छन् । समितिले उद्योगीको कार्टेलिङका कारण सिमेन्टको भाउ वृद्धि भएको निष्कर्ष निकालेको थियो । साथै, अस्वाभाविक रूपले वृद्धि भएको भाउ नियन्त्रणका लागि सरकारी हस्तक्षेप गर्न समितिले निर्देशनसमेत दिएको थियो ।

स्क्र्याप फलामको भाउ भने घटाए
सिन्डिकेट गरेर डन्डी उद्योगीले कवाडी फलामको भाउ भने घटाएर किन्ने निर्णय गरेका छन् । कवाडी व्यवसायी महासंघका अध्यक्ष सञ्जय साह कलवारका अनुसार उद्योगीले अहिले स्क्र्याप फलाम प्रतिकिलो ५८ रुपैयाँसम्ममा खरिद गरिरहेका छन् । ‘दुई महिनाअघिसम्म स्क्र्याप फलामको भाउ प्रतिकिलो ६२–६४ रुपैयाँ प्रतिकिलो थियो,’ उनले भने, ‘तर, अहिले सबै उद्योगीले सिन्डिकेट गरेका छन् । प्रतिकिलो ५८ रुपैयाँभन्दा बढीमा कसैले लिँदैनन् ।’ डन्डी उद्योगका लागि स्क्र्याप फलाम मुख्य कच्चा पदार्थ हो । मेल्टिङमा आधारित स्टिल उद्योगले स्क्र्याप फलामलाई गालेर डन्डी उत्पादनमा प्रयोग गर्ने गरेका छन् ।

लोडसेडिङको बहाना बनाएर सिमेन्ट बोरामा बढाइयो ४० रुपैयाँ
उद्योगीले लोडसेडिङको बहाना बनाएर सिमेन्टको भाउ बोरामा ४० रुपैयाँ बढाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा मंगलबार दिउँसो ३ बजे सिमेन्ट उद्योगी र निर्माण व्यवसायीबिच छलफल भएको थियो । सो छलफलमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ओपिसी र पिपिसी दुवै सिमेन्टको भाउ फेरि बोरामा ४० रुपैयाँ बढेको विभागलाई जानकारी दिएका थिए । उद्योगीले पनि लोडसेडिङका कारण लागत बढेकाले भाउ बढाउन बाध्य भएको तर्क गरेका थिए । भाउ बढेपछि सिमेन्ट प्रतिबोरा न्यूनतम पिपिसी ६५० र ओपिसी आठ सय रुपैयाँ पुगेको सिंहले बताए ।