मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o६:o३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चीन तस्करी हुँदै गरेको २५ करोडबराबरको डलर र युरो बरामद प्रकरण : नौ दिन बित्यो, तर अझै अघि बढेन अनुसन्धान

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o३:oo
  • बरामद गरिएका सबै नोटको नम्बर उतार्न मात्रै सात दिन लाग्यो, बल्ल फाइल ग्रहण गरेको राजस्व अनुसन्धान विभाग छानविनको तयारीमा

टोखाको झोरबाट २५ करोड १९ लाख २४ हजार रुपैयाँबराबर युरो र डलर बरामद प्रकरणको अनुसन्धान प्रक्रिया अझै अघि बढ्न सकेको छैन । काठमाडौं अपराध अनुसन्धान कार्यालयले ४ चैतमा पैसा ढुवानी गर्ने ट्रकसहित उक्त रकम बरामद गरेकोमा नौ दिन बितिसक्दा पनि अनुसन्धान अघि नबढेको हो । 

प्रहरीले बरामद रकमसहित पक्राउ परेका ट्रकचालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई ५ चैतमा राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । तर, विभागले बरामद नोटको सनाखत नसकिएकाले अनुसन्धानको स्वामित्व ग्रहण गरेको थिएन । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले नोटको सनाखतपछि मंगलबार मात्रै फाइल विभागमातहत आएकाले अब विभागले थप अनुसन्धान अघि बढाउने बताए ।

  • अब अनुसन्धान अघि बढ्छ : चण्डीप्रसाद घिमिरे, महानिर्देशक, राजस्व अनुसन्धान विभाग
  • बरामद सबै नोटको नम्बर अनिवार्य रूपमा नलेखी सनाखत हुँदैन । यस कार्यमा हामीले पनि प्रहरीलाई सहजीकरण गरिदियौँ । मंगलबार मात्रै नोटका सबै नम्बर लेखेर सकिएपछि फाइल हामीकहाँ ह्यान्डओभर भयो । २५ करोड बरामद घटनासँग सम्बन्धित फाइलको पूर्ण स्वामित्व हामीकहाँ आइपुगेको छ । केही अनुसन्धान भएका छन् । अब विभागबाट नयाँ ढंगले अनुसन्धान अघि बढ्छ ।

‘बरामद नोटको सनाखत मंगलबार मात्रै सकियो । त्यसपछि २५ करोड बरामद घटनासँग सम्बन्धित फाइलको पूर्ण स्वामित्व हामीकहाँ आइपुगेको छ । घटना सम्बन्धमा केही अनुसन्धान भएका छन् । नयाँ ढंगले घटनाको अनुसन्धान अघि बढ्छ,’ उनले भने ।

कुसाङले ना.७ख १६५२ नम्बरको ट्रकमा लुकाएर विदेशी मुद्रा रसुवाको केरुङतर्फ लैजान लाग्दा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकसहित उनलाई पक्राउ गरेको थियो । ट्रक खानतलासी गर्दा अमेरिकी डलर एक सय दरका तीन हजार ११९, ५० दरका १७९, युरो पाँच सय दरका ११, दुई सय दरका ४८०, एक सय दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ बरामद भएको थियो । बरामद रकम रातभर लगाएर पनि प्रहरीले गणना गर्न नसकेपछि राष्ट्र बैंकबाट मेसिन ल्याएर गनिएको थियो । गणनापछि प्रहरीले सबै नोट विभाग त पठायो, तर प्रत्येक नोटको नम्बर लेख्न सकेको थिएन । यत्तिकै विभागले अनुसन्धानको फाइल बुझ्न मानेको थिएन । सनाखत नहुने देखिएपछि अनुसन्धानमा संलग्न प्रहरी टोली पुनः नोटको नम्बर लेखनमा लागेको थियो । विभागका अनुसार नोटको नम्बर लेख्न नै सात दिन लाग्यो । 

महानिर्देशक घिमिरेले भने, ‘नोटको नम्बर नलेखी सनाखत हुँदैन । बरामद सबै नोटको नम्बर अनिवार्य रूपमा लेख्नुपर्छ । यस कार्यमा हामीले पनि प्रहरीलाई सहजीकरण गरिदियौँ । नोटका सबै नम्बर लेखिएपछि फाइल हामीकहाँ ह्यान्डओभर भयो ।’

ट्रकसँगै पक्राउ परेका कुसाङ उनै व्यक्ति हुन् जो १३ पुस ०७३ मा कलंकीबाट सात किलो सुनसहित पक्राउ परेका थिए । घटनामा प्रयोग गरिएको ट्रक कुसाङकी आमाको नाममा छ । जुन ट्रक कुसाङले आफैँ चलाउँदै आएका थिए । 

राजस्व अनुसन्धान विभाग चाहँदैन अनुसन्धानमा प्रहरीको उपस्थिति 

कुसाङलाई तस्करले रसुवागढीसम्म मात्रै विदेशी मुद्रासहितको ट्रक हाँक्न निर्देशन दिएको प्रारम्भिक सोधपुछमा खुलेको छ । त्यही निर्देशनअनुसार उनी ट्रकमा २५ करोड लुकाएर रसुवागढीतर्फ जाँदै थिए । सूचना चुहिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई टोखाको झोरबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार रसुवागढी पुगेपछि उक्त ट्रक नेपाल–चीन सीमा कटाएर केरुङसम्म लैजाने जिम्मा भने अर्कै चालकले पाएका थिए । त्यसैगरी, ट्रकलाई केरुङबाट नाका कटाएर पुनः रसुवागढी फिर्ता ल्याउने जिम्मा पनि फरक चालकले नै पाएका थिए । रसुवागढी आइपुगेपछि मात्रै ट्रक कुसाङको जिम्मामा आउँथ्यो र उनले काठमाडौंसम्म ल्याउनुपर्थ्यो । घटना संगठित प्रकृतिको भएको प्रहरी अनुमान छ । 

यस्ता घटना अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागसँग न अनुभव छ, न दक्ष जनशक्ति नै । विभागले मूलतः राजस्व चुहावटमा केन्द्रित भएर अनुसन्धान र अभियोजन गर्छ । त्यसो हुँदा प्रहरी यो अनुसन्धानमा विभागसँगै सहकार्य गर्न चाहन्छ । यसका निम्ति प्रहरीले विभागलाई तीन विकल्प दिएको छ । पहिलो– अनुसन्धान कार्यालयको टोली विभागमै बसेर अनुसन्धानमा सघाउने, दोस्रो– प्रहरी अधिकारी सम्मिलित छुट्टै अनुसन्धान समिति गठन गर्ने र तेस्रो– निश्चित घटना अनुसन्धानमा सघाउन भन्दै विभागले प्रहरीलाई औपचारिक आग्रह गर्ने । तर, विभाग प्रहरीको कुनै पनि विकल्प मान्न तयार छैन । 

अनुसन्धान कार्यालय स्रोतले भन्यो, ‘रकम बरामदपछि हामीले विभागमा पठायौँ । यति ठुलो घटनामा अझै अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको छैन न कोही पक्राउ नै परेका छन् । यो घटना संगठित प्रकृतिको छ । जसको अनुसन्धान गर्ने दक्षता विभागसँग छैन । यस सम्बन्धमा हामीले विभागलाई तीन विकल्प दिएका छौँ । तर, विभागका अधिकारी मान्न तयार छैनन् ।’

२५ करोडको असली मालिक चिनियाँ नागरिक रहेको पनि प्रहरीको प्रारम्भिक अनुमान छ । उनी विगतदेखि नै सुन तस्करी धन्दामै संलग्न हुँदै आएको पनि प्रहरी बताउँछ । ०७८ मा जेलबाट छुटेलगत्तै कुसाङलाई उनीहरूले नै सम्पर्कमा ल्याएका थिए । घटनामा प्रयोग गरिएको ट्रक पनि उनीहरूले नै सुन तस्करी गर्ने उद्देश्यले खरिद गर्न लगाएको प्रहरीको प्रारम्भिक निचोड छ ।