
गुठीचौर गाउँपालिका– १ का किसान दलबहादुर बस्नेतको आम्दानीको मुख्य स्रोत भेडापालन हो । एक सय ५० वटा भेडापालन गरिरहेका उनले यही पेसाबाट घरखर्च चलाइरहेका छन् । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले भेडापालक किसानलाई दिने गोठालो भत्ताबापत उनले भर्खरै १८ हजार प्राप्त गरेका छन् । प्रोत्साहन भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको उनले बताए ।
जुम्लामा ५० वटाभन्दा बढी भेडापालन गर्ने तीन सय १५ जना किसान पशु अस्पताल तथा पशुसेवा कार्यालयमा सूचीकृत रहेका छन् । सूचीकृत नभए पनि जुम्लामा भेडा मात्रै पाल्ने १७ सय किसानले ८८ हजार तीन सय भेडापालन गरेको कार्यालयको तथ्यांक छ । सरकारको भेडापालक किसानलाई आर्थिक सहयोग दिन थालेपछि व्यवसाय गर्न थप सहज भएको सिँजा गाउँपालिका– ६ का किसान सुवा रावतले बताए । जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन भत्ता प्रदान गरिने पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले बताए ।
जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालू आर्थिक वर्षमा ४५ लाख प्रोत्साहन भत्ता विनियोजन भएको छ । मन्त्रालयको कार्यविधिअनुसार फर्म दर्ताको प्रमाणपत्रसहित कर चुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनका आधारमा करिब दुई सय ३० जना किसानलाई १८ हजारका दरले प्रोत्साहनस्वरूप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढ्थापाले बताए ।
उनले भने, ‘भत्ता पाएपछि किसानलाई थप हौसला मिलेको छ । भौतिक संरचना निर्माणदेखि खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत कार्यालयको विशेष प्राथमिकतामा परेको छ ।’