
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले देशका ठुला भनिने पार्टीहरूले युवा विद्यार्थीलाई उक्साउँदै, लडाउने र भिडाउने काम गरेको आरोप लगाएका छन् । उनले ठुला भनिने दलले स्वतन्त्र विद्यार्थीका नाममा घृणाको राजनीतिको अब्बल तालिम दिएको आरोप लगाए ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद ढकालले देशभर स्ववियु चुनाव भइरहँदा शैक्षिक क्यालेन्डरको हालत के छ ?भनेर प्रश्न गरे । उनले सोधे, ‘सिंहदरबारका झ्यालबाट देखिने विश्वविद्यालयको तालाबन्दी शिक्षामन्त्रीले देख्नुभको छ कि छैन ? क्याम्पसहरूमा भएको ताण्डव गृहमन्त्रीले देख्नुभएको छ कि छैन ? यदि छ भने उक्त ताला खोल्न अनुरोध गर्दछु ।’
उनले चुनाव सकिएपछि फेरि क्याम्पसमा रोचक ताण्डव मच्चिने भन्दै शैक्षिक संस्था बन्द हुने र भौतिक संरचनामाथि हस्तक्षेप हुनेमा शंका नभएको दाबी गरे । उनले अहिले विद्यालय, खानेपानी, वनमा मात्र नभएर घृणाको राजनीति घाटसम्म पुगेको बताए । सांसद ढकालले स्थानीय निकायमा हुने ५१ प्रतिशत भ्रष्टाचारको भण्डाफोर किन हुन नसकेको ? भनेर प्रश्न गरे ।