मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
२o८१ चैत ६ बुधबार १२:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीका स्वास्थ्य संस्थाहरू अनलाइनबाटै दर्ता तथा नवीकरण गर्न सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १२:१२:oo

बागमती प्रदेशका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको दर्ता तथा नवीकरण अबदेखि अनलाइनबाटै हुने भएको छ। प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उक्त व्यवस्थाको सुरुवात मंगलबारबाट गरेका छन् ।हेटौँडामा सम्पन्न भएको मन्त्रालयको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गोष्ठी तथा आगामी आवको योजना तर्जुमा गोष्ठीको अवसरमा मन्त्री थापाले प्रदेशका १३ वटै जिल्लामा सञ्चालित निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको दर्ता, नवीकरण र स्तरोन्नतिका लागि ‘अनलाइन’बाटै आवेदन दिन सकिने व्यवस्थाको शुभारम्भ गरेका हुन्।

मन्त्रालयले निजीस्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरू दर्ता, नवीकरण र स्तरोन्नति हुनुअगाडि सम्बन्धित निकायबाट हुने अनुगमनमा आर्थिक चलखेलको आरोप लागेपछि अनलाइनबाटै आवेदन दिने गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। मन्त्री थापाले देशभरमा नै पहिलोपटक प्रदेश सरकारले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरूको दर्ता, नवीकरण र स्तरोन्नतिका लागि अनलाइन सेवा सुरु गरेको जानकारी दिए।

उनले अनलाइनबाट आवेदन दिएपछि मापदण्ड पूरा भए/नभएको हेरेर दर्ता, नवीकरण र स्तरोन्नति गरिने बताए । मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाहरूको हकमा मन्त्रालयले ६ महिनाको समय थप दिने, ६ महिनाभित्र पनि मापदण्ड पूरा नगर्नेहरूको दर्ता, नवीकरण नगरिने र सेवा बन्द गर्ने/गराउने प्रक्रियामा जाने उनको भनाइ छ ।

यसैबिच मन्त्री थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रतिफलअनुसार प्रदेशका दूरदराजका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि भएको दाबी गरेका छन् । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा पछिल्लो समय महत्त्वपूर्ण उपलब्धि हासिल भइरहेको दाबी गरेका हुन् । नागरिकलक्षित सेवा प्रवाहमा प्रदेश सरकारले जोड दिएको उनको भनाइ छ । उनले प्रदेश सरकारले ग्रामीण भेगका नागरिकको पहुँचमा गुणस्तरिय स्वास्थ्य सेवा पुर्‍याउने गरी स्थानीयस्तरको स्वास्थ्य संस्थाको स्तरोन्नतिमा काम गरेको बताए ।

‘प्रदेशका आमनागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच सुनिश्चितताका लागि जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापनसहित गर्ने काम गरिरहेका छौँ । स्थानीयस्तरका पाँच स्वास्थ्य संस्थालाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने गरी प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘टेलिमेडिसिनमार्फत प्रादेशिक अस्पताल र प्रदेशको प्रविधियुक्त स्वास्थ्य संस्थामा जोडेर दूरदराजका नागरिकलाई विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्ने तयारी भइरहेको छ ।’

मन्त्री थापाले मन्त्रालय स्वास्थ्य सेवामा पेपरलेस प्रविधिको प्रयोगमा अग्रसर भइरहेको पनि बताए । यस्तै, प्रदेश मातहतका स्वास्थ्य संस्थाहरूको सेवालाई चुस्त र दुरुस्त बनाउन विद्युतीय हाजिरी सेवा सुरु गरी मन्त्रालयबाटै दैनिक निरीक्षण गर्ने व्यवस्था गरिएको जानकारी दिए । उक्त कार्यले निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई सहजीकरणसँगै नियमनमा कडाइ हुने उनको विश्वास रहेको छ ।