
लुम्बिनी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ। बिहीबार बिहान ८ बजेबाट सुरु हुने परीक्षामा यस वर्ष प्रदेशबाट ९४ हजार ९०८ परीक्षार्थी सहभागी हुनेछन्।
परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने आठ हजार ६ सय कर्मचारी परिचालन गरिनेछ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको छ।
यस वर्ष रुपन्देहीका सबैभन्दा धेरै २२ हजार ९७५ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङका १४ हजार २५४, कपिलवस्तुका नाै हजार ४६१, बाँकेका १० हजार २७४ परीक्षार्थी सहभागी हुनेछन्। पाल्पाका चार हजार ९१०, गुल्मीका चार हजार ८५७, अर्घाखाँचीमा तीन हजार ४६५, रोल्पाका चार हजार ७६५, प्युठानका चार हजार ९४०, बर्दियाका सात हजार ७६२, नवलपरासी पश्चिमका ६ हजार ३९७ र रुकुम पूर्वका एक हजार दुई सय परीक्षार्थी सहभागी हुँदै छन्।
नियमिततर्फ ७४ हजार ५९८ परीक्षार्थी छन् भने ग्रेडवृद्धिका लागि २० हजार ३१० परीक्षार्थीले परीक्षा दिनेछन्। यसैगरी, प्राविधिक धारतर्फ तीन हजार १७४ विद्यार्थीले परीक्षा दिनेछन्।
परीक्षा विष्पक्ष र मर्यादित बनाउन आठ हजार ६ सय कर्मचारी परिचालन हुँदै छन्। केन्द्राध्यक्ष ३४८ जना, सहायक केन्द्राध्यक्ष ६३४, निरीक्षक चार हजार ७५८, सहायक ९५८ र कार्यालय सहयोगी एक हजार ९०२ जना परिचालन हुँदै छन्। परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ।