
ललितपुरको सानेपा क्षेत्रमा छाडा कुकुरको आतंक बढेको छ । आज बिहान मात्रै ५० जनाभन्दा बढी मानिसलाई कुकुरले टोकेको छ । कुकुरले टोकेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भ्याक्सिन लगाउने आउनेको संख्या बढेको छ ।
अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सानेपा क्षेत्रबाट मात्रै १५ जनाभन्दा बढी मानिस रेबिजविरुद्धको भ्याक्सिन लगाउन आइपुगेको बताए । उनका अनुसार यसरी एकै स्थानबाट भ्याक्सिन लगाउन आउनेको संख्या धेरै देखिएपछि अस्पतालले ललितपुर महानगरपालिकालाई त्यसबारेमा जानकारी गराएको छ ।
त्यस्तै, सोही क्षेत्रमै कुकुरले टोकेर पाटन अस्पतालमा पनि भ्याक्सिन लगाउन आउनेको संख्या बढेको छ । पाटन अस्पतालमा पनि १५ जनाले भ्याक्सिन लगाएका छन्।
यसरी मानिसलाई टोक्ने कुकुर एउटै हो वा फरक फरक हुन् भनेर छुट्याउन सकिएको छैन । तर, सानेपा क्षेत्रबाट एउटा कुकुरले टोक्दै पाटनतर्फ निस्किएको हुन सक्ने डा. पुनले बताए । उनका अनुसार उक्त कुकुरलाई नियन्त्रणमा लिएर राख्नसमेत वडा कार्यालयलाई जानकारी गराइएको छ ।