
संखुवासभाको उत्तरी चीनसँग सिमाना जोडिएको किमाथांका नाकाको व्यापार प्रवर्द्धन गर्न खाँदबारीमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ।
सदरमुकाम खाँदबारीस्थित जिल्ला समन्वय समितिको सभाहलमा चीनसँग सिमाना जोडिएको किमाथांका नाकालाई व्यापार गर्न कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग दुईदिने अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र खाँदबारी सेवा समाजको संयोजनमा भएको उक्त छलफल कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा व्यापारिक काउन्सिलर सियु र चिनियाँ दूतावासका सेक्रेटरी चेन योङ, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुखलगायतको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राजदूतावासका आर्थिक तथा व्यापारिक काउन्सिलर सियुले नेपालसँग व्यापारिक सम्बन्ध राख्न चीन सरकार सधैँ सकारात्मक रहेको बताए। उनले किमाथांका नाकालाई दुवै देशले व्यवस्थित गरेर सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै बिआरआईअन्तर्गत सिमानाकाको मितेरी पुल र सडक निर्माणमा चीन सरकारले सहयोग गर्नका लागि नेपाल सरकारले वातावरण बनाउनुपर्ने बताए। उक्त कार्यक्रमलाई सम्बोधनपछि काउन्सिलर सियु र सेक्रेटरी चेन योङ मंगलबार नै काठमाडौ फर्किएका छन्।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद विदुर लिङथेपले नेपाल र चीनबिचको सम्बन्ध पुरानो र राम्रो भएकाले संखुवासभाको विकासका लागि किमाथांका नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने धारणा राखे। उनले किमाथांका नाका सञ्चालनमा आएको खण्डमा संखुवासभा मात्रै नभएर कोशी प्रदेशले नै लाभ लिने बताए।
त्यसैगरी, खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले नेपाल र चीनबिच स्रोङचन गम्पो र भृकुटीबिचको विवाहपछि निकट सम्बन्ध रहेको उल्लेख गर्दै चीनको सम्मानका लागि संखुवासभामा भृकुटीलाई चीनमा लैजाँदै गरेको गेट निर्माण गर्न पहल गर्ने बताए। उनले किमाथांका नाका सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै नाका सञ्चालनमा आएपछि आर्थिक कारोबारमा वृद्धि हुने भएकाले नाका सञ्चालनमा ल्याउन सबैले भूमिका खेल्नुपर्ने बताए।
चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले भोटखोलाको विकास र समृद्धि गर्ने हो भने निषेधित क्षेत्र हटाउनुपर्ने माग गरे। नेपाल सरकारले भोटखोलालाई निषेधित क्षेत्र तोकेकाले विदेशी पर्यटक भोटखोला आउने वातावरण नभएको उनले उल्लेख गरे। भोटखोलाको सडक, विद्युत् र भौतिक पूर्वाधारको क्षेत्रमा चीन सरकार र प्रान्तीय सरकारहरूले बजेट दिन्छु भने पनि नेपाल सरकारको नीति–नियमको कारण बजेट लिन सक्ने अवस्था नरहेको अध्यक्ष लामाले गुनासो गरे।
कार्यक्रममा संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले किमाथांका नाकाको सीमा सुरक्षा र अवस्थाबारे जानकारी गराएका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव सीता निरौलाले कार्यपत्र प्रस्तुत गर्दै नेपाल र चीनबिच मैत्रीपूर्ण सम्बन्ध धेरै वर्ष अगाडिदेखि चल्दै आएको र अझै किमाथांका नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न नीतिगत रूपमा कसरी काम गर्न सकिन्छ भन्नेबारेमा सल्लाह–सुझाव लिन चाहेको बताइन्।
कार्यक्रमका संखुवासभा जिल्लाको परिचय, किमाथांका नाकाको भौगोलिक अवस्था र इतिहासबारे खाँदबारी सेवा समाजका जीवनाथ पोख्रेलले कार्यपत्र प्रस्तुत गरेका थिए।