मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ४ सोमबार o८:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जापानका स्ट्राइकर हारा लुम्बिनीबाट खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार o८:२५:oo

बुटवल लुम्बिनीले १६ चैतदेखि हुने तेस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि जापानिज स्ट्राइकर केन्ता हारालाई अनुबन्ध गरेको छ । बुटवल लुम्बिनीले आइतबार एनएसएलका लागि जापानिज खेलाडी अनुबन्ध गरेको जनाएको हो । बुटवल लुम्बिनीले चौथो विदेशी खेलाडीका रूपमा हारालाई भित्र्याएको हो । लुम्बिनीले नाइजेरियन मिडफिल्डर इजेकेल ओजिदिझा तमारा, इंग्लिस डिफेन्डर नाथन माभिला र स्कटल्यान्डका मिडफिल्डर फ्र्यांक रोसलाई अनुबन्ध गरेको थियो । 

२८ वर्षीय हाराले जापानबाहेक हङकङ, इन्डोनेसिया, मलेसिया र जर्मनीको लिगमा खेलिसकेका छन् । उनले पछिल्लोपटक इन्डोनेसियाको लिग टु क्लब पिएसकेसी सिमाही र पर्सिपा पाटीबाट खेलेका थिए । हङकङको साउथ चाइना ‘ए’बाट उनले २२ खेलमा १५ गोल गरेका थिए । उनले क्लब फुटबलमा ६५ खेलमा २० गोल गरेको बुटवल लुम्बिनीले जनाएको छ । क्लबका म्यानेजर नवीन चित्रकारले हाराको आगमनले टिम बलियो हुने बताए ।

‘हामीले अनुभवी र आक्रामक खेलाडी भित्र्याएका छौँ, यसले टोली थप बलियो हुने आशा छ,’ चित्रकारले भने । बुटवल लुम्बिनीले यसपटक मार्की र प्रशिक्षक परिवर्तन गर्दै नयाँ टोली बनाएको छ । राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई नयाँ मार्की नियुक्त गरेको छ । बुटवल लुम्बिनीले भुटानी प्रशिक्षक पुष्पलाल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । गत सिजन मार्की र कप्तान मिडफिल्डर एरिक विष्ट थिए ।