
गत साउनबाट पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटेल व्यवसायलाई राहत प्रदान गरेको छ ।
कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटेल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मुख रहेको व्यवसायीहरूको भनाइ छ । ‘कोरोनाअघिको जस्तो व्यापार छैन, तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ,’ होटेल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने। विगत १८ वर्षदेखि होटेल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको होटेल व्यवसायमा देखिएको सुस्तता बिस्तारै हटेर जाने विश्वास व्यक्त गरे ।
त्यसैगरी होटेल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटेलहरूको व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मुख रहेको बताए । यस क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उनी बताउँछन्।
होटेल एसाेसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भए पनि टावरको प्रवेश शुल्क केही महँगो भएकाले सोचेजस्तो पर्यटकहरू आकर्षित नभएको गुनासो गरे ।
हाल भेडेटारमा पर्यटकलक्षित एक सयभन्दा बढी सुविधासम्पन्न र करिब दुई सयभन्दा बढी साना होटेलहरू सञ्चालनमा छन् । साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रूपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
कोशी प्रदेश लगानी बोर्ड र वन्डर्स ग्रुपअन्तर्गत वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा स्काई वाक निर्माण भएको हो । गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुनसम्ममा एक लाख ५० हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध–निर्देशक सञ्जीव रोकायाले जानकारी दिए । उक्त अवधिमा स्काई वाक टावरबाट पाँच करोडभन्दा बढी कारोबार भएको उनले बताए ।