मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार १३:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १३:o३:oo

विदेशमा कार्यरत नेपालीको जिउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकाहरूको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरूले सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ८ का सुमिना तामाङको वैदेशिक रोजगारीका क्रममा इराकमा मृत्यु भएको र शव नेपाल झिकाउनका लागि आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन माग गरे । सांसद डा. चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताइन् । उनले हरेक तीन दिनमा औसत पाँचजनाको हत्या भइरहेको दाबी गरिन् ।

सांसद दीपकबहादुर सिंहले युवाहरू विदेश पलायन बढ्दा मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको बताए । देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउनका लागि यौन व्यवसाय खुला गरिनुपर्छ भनेर संसदमा बोलिनु आपत्तिजनक रहेको उनको भनाइ थियो । राप्रपा सांसद ज्ञानबहादुर शाहीमाथि आइतबारको संसद् बैठकमा अपमान भएको पनि उनको भनाइ छ ।

सांसद कृष्णकुमार श्रेष्ठले बाराका व्यवसायीहरूले जिल्ला प्रशासनबाट अनावश्यक दुःख भोग्नुपरेको बताए । बारा जिल्लाको विकास निर्माणका लागि आफूले संसदमा पटक–पटक कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको श्रेष्ठको भनाइ छ । अमलेखगन्जका नागरिकका लागि खानेपानीको व्यवस्था गर्न उनले संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा जंगली जनावर र मुख्यगरी हात्तीको आक्रमणबाट नागरिकले ज्यान गुमाइरहेको र जंगली जनावरको त्रास बढिरहेको विषय संसदमा राखे । मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि पनि उनले आग्रह गरे । त्यस्तै, जंगली जनावरको आक्रमणबाट पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । सांसद डा. अमरेशकुमार सिंहले दलितमाथि हुने विभेद अझै कायम रहेको बताए ।

सर्लाहीमा अवैध ढुंगा बालुवा खानीनजिक आपराधिक घटना बढिरहेको विषय पनि उनले संसदमा उठाए। सांसद सीताकुमारी रानाले बाजुराको जगन्नाथ गाउँपालिका– ६ का स्थानीयले राष्ट्रिय जनावर गाईलाई खोलामा बगाएर मारेको विषयमा संसदमार्फत ध्यानाकर्षण गराइन् । गाई चोरी–पैठारी भइरहेको विषय पनि उनले संसदमा उठाइन् ।