मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
२o८१ चैत ४ सोमबार १३:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नमुना विद्यालयमा करोडौँ लगानी, नतिजा भने खस्कँदो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १३:२३:oo

गोरखाका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमुना विद्यालय घोषणा गरी बर्सेनि करोडौँ अनुदान उपलब्ध गराए पनि शैक्षिक गुणस्तर खस्कँदो छ। दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेल नमुना विद्यालय घोषित भई करोडौँ अनुदान प्राप्त गरे पनि विगत पाँच वर्षको शैक्षिक प्रगति विवरण सन्तोषजनक नदेखिएको हो ।

गोरखा नगरपालिकास्थित महेन्द्र माविका प्राचार्य गोपालबाबु मरहट्टाले भने, ‘यो वर्ष रु. १० लाख परेको छ, कार्यक्रम आएको सुरुको वर्ष रु. ५० लाख आएको थियो ।’ प्राप्त बजेट शैक्षिक गुणस्तर निर्माणका लागि खर्च गरेको उनले बताए । उनका अनुसार १२-१२ कोठाको दुईवटा विद्यालय भवन, एउटा छात्रावास, व्यवस्थित शौचालय निर्माणसँगै कम्प्युटर, अन्य जिन्सी सामग्री खरिद गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

सो विद्यालयमा हाल ५६४ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालय नमुना घोषणा भएको वर्ष २०७४ को एसइईमा औसत २.४० जिपिए थियो । ०७५ मा २.४८, ०७६ मा २.५९, ०७७ मा २.७४, ०७८ मा २.२७ र वर्ष ०७९ मा २.२१ मात्र जिपिए ल्याएको छ । गत वर्ष ०८० को एसइई नतिजा घटेर १.७२ जिपिए छ ।

भीमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालस्थित दुल्लभ माविमा नमुना विद्यालय कार्यक्रम सञ्चालन भएसँगै भौतिक निर्माणले गति लिएको छ । हाल ३२४ जना विद्यार्थी रहेको सो विद्यालयमा दुई वटा ६– कोठे भवन निर्माण गर्नुका साथै विद्यालयबससमेत सञ्चालन गरिएको प्रअ लक्ष्मणबाबु आचार्यले बताए । नमुना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त वार्षिक रु. एक करोड भौतिक पूर्वाधारमा र बाँकी रु. ५० लाख व्यवस्थापनमा खर्च गरेको उनले जानकारी दिए । विद्यालयको गत वर्षको एसइई नतिजा औसत ७५.८६ प्रतिशत छ ।

३१५ जना विद्यार्थी पढ्ने बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले कार्यक्रमअन्तर्गत सुरुको पाँच वर्ष डेढ–डेढ करोड र गत वर्ष रु. ३० लाख प्राप्त गरेको छ । अनुदानबापत प्राप्त रु. चार करोड विद्यालय भवन निर्माणमा खर्च गरेको विद्यालयले जनाएको छ । रु. ९७ लाखबराबरको चमेना गृह, रु. २१ लाख लागतमा विद्यालयको मञ्च र करिब रु. १० लाखमा आइसिटी ल्याब निर्माण गरेको प्रअ प्राचार्य बाबुराम नेपालीले बताए ।

बजेट करोडौँ खर्च गरे पनि एसइईको नतिजा खासै राम्रो देखिएको छैन । सुरुको वर्ष ०७५ मा विद्यालयले २.२५ जिपिए प्राप्त गरेको थियो । ०७६ मा २.८४, ०७७ मा ३.१४, ०७८ मा २.२० र ०७९ मा २.६५ जिपिए प्राप्त गर्‍याे भने गत वर्ष जम्मा ०.५६ जिपिए प्राप्त गरेको छ । ३६५ जना विद्यार्थी पढ्ने अर्को नमुना विद्यालय सिरानचोक– ८ जौबारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसइई नतिजा ६४.२८ प्रतिशत छ । यस्तै, विद्यालयले ०७९ मा २.५५, ०७८ मा २.५३, ०७७ मा २.८५, ०७६ मा २.८५ र ०७५ मा २.८७ जिपिए ल्याएको थियो ।

जिल्लामा सबैभन्दापछि नमुना विद्यालय घोषणा भएको पालुङटार नगरपालिकास्थित अमरज्योति जनता माविमा गत वर्ष एसइई परीक्षामा नौजना अनुत्तीर्ण भएको विद्यालयले जनाएको छ । त्यसअघिका वर्षहरूमा ग्रेडिङ प्रणाली लागू भएकाले केही विद्यार्थी फेल नभएको विद्यालयका प्रअ माधव देवकोटाले बताए । ६३० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा हाल नमुना विद्यालय कार्यक्रमको चौथो वर्ष सञ्चालन भइरहेको छ । रासस