
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मंगलबार कुरा गर्ने योजना रहेको बताएका छन् ।
अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीनवर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबिच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए ।
‘मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युतगृहबारे कुरा गर्नेछौँ,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने, ‘मलाई लाग्छ, युक्रेन र रुस दुवै पक्षबिच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलोपटक यसबारे कुरा गर्दै छौँ र केही जमिनहरूमाथिको दाबीबारे टुंगाे लगाउने विषयमा छलफल गर्दै छौँ।’
वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन्, तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन् । बरु सर्तहरूको एक शृंखला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन् ।
केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सिएनएनसँगको कुराकानीमा भनेका छन्, ‘दुई राष्ट्रपतिबिच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ ।’
उनले भने, ‘सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो।’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएकाे समय ट्रम्प र पुटिनबिच वार्ता हुनेछ । कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन् ।णढ