ब्राजिलमा लुला चौथोपटक राष्ट्रपतिमा विजयी

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

रियो दि जेनेरियो/ ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भा देशको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । अक्टोबरको सुरुमा भएको पहिलो चरणको चुनावमा २० लाखभन्दा बढी मतले पछि परे पनि अति दक्षिणपन्थी प्रतिद्वन्द्वी सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै उनले आश्चर्यजनक चुनावी विजय हासिल गरेका हुन् । ८० वर्षीय वामपन्थी नेता लुलाले आइतबार अभूतपूर्व चौथो कार्यकाल हासिल गरेका हुन् । लुला सन् १९८५ मा ब्राजिलमा प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो चरणको चुनावमा दोस्रो स्थान हासिल गरेर पनि राष्ट्रपति पदको दोस्रो चरणमा जित्ने पहिलो व्यक्ति बने ।

लुलाले साओ पाउलोमा विजय परेडमा उत्साहित प्रशंसकलाई भने,  ‘कसैलाई पनि राष्ट्रपतिमा निर्वाचित व्यक्तिलाई मन पराउन आवश्यक छैन, तर उसले सबैका लागि शासन गर्नुपर्छ ।’ लुलाको विजय दक्षिणपन्थी राजनीतिक आन्दोलनका लागि एक महŒवपूर्ण धक्का हो, जसले ल्याटिन अमेरिकाभरि वर्चस्व कायम गरेको छ ।

अन्तिम गणनाअनुसार ८१ वर्ष पुगेका लुलाले कुल सदर मतको ५१.७९ प्रतिशत (६ करोड ४२ लाख ६० हजार मत) प्राप्त गरे । अर्कोतर्फ, बोल्सोनारोले ४८.२१ प्रतिशत (५ करोड ९८ लाख ३० हजार मत) प्राप्त गरे । यो नतिजा अक्टोबर ४ मा भएको पहिलो चरणको निर्वाचनको तुलनामा ठुलो उलटफेर थियो । पहिलो चरणमा लुलाको ४५.१६ प्रतिशतको तुलनामा बोल्सोनारोले ४७.०३ प्रतिशत मत ल्याएर करिब २२ लाख मतको अग्रता लिएका थिए ।

आइतबारको निर्वाचनमा ८०.८ प्रतिशत मतदाताले मतदान गरे । यो अघिल्लो चरणको तुलनामा करिब दुई प्रतिशत बढी हो, जतिवेला कुल मतदातामध्ये ७८.९२ प्रतिशतले मतदान गरेका थिए ।

द ब्राजिलियन रिपोर्ट’का प्रधान सम्पादक गुस्ताभो रिबेरोले अलजजिरालाई बताएअनुसार लुलाको चुनावी अभियान सुरुमा केही हदसम्म सन्तोषजनक देखिएको थियो । उनले भने, ‘पहिलो चरणको निर्वाचनपछि लुलाको अभियानले आफूलाई सुधार्यो । त्यसअघि उनीहरू यस्तो व्यवहार गरिरहेका थिए, मानौँ चुनाव जितिसकेकै छन् । लुलाका समर्थक निकै पुरानो शैलीको, प्रायः अनलाइनको पहुँचभन्दा बाहिरको (अफलाइन) चुनावी अभियान चलाइरहेका थिए ।’

विरोधीहरूका अनुसार बोल्सोनारोका आफ्नै गल्तीहरू उनको हारको कारण बनेका हुन सक्छन् । प्राज्ञ भिएराले तर्क गरे कि पहिलो चरणमा जित हासिल गरेपछि ती सिनेटरमा अत्यधिक आत्मविश्वास पलाएको थियो ।

सुझावित समाचार