मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत ४ सोमबार १३:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १३:२९:oo

सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भने, ‘उपभोक्ता ऐन बनेको ६ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, विनाबिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।’

सांसद दुर्गा राईले पूर्वविशिष्टहरूलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाइन् । उनले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गरिन् ।

सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधारणहरू अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । ‘सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

सांसद तारा लामा तामाङले लागुऔषध प्रयोगले युवाहरू कुलतमा फसेको भन्दै लागुऔषध नियन्त्रण तथा लागुऔषध अपराध नियन्त्रणका लागि ठोस नीति अपनाउनुपर्नेमा जोड दिए । सांसद दिलेन्द्रप्रसाद बडूले विपतजन्य घटनाबाट क्षति भएको संरचनाको पुनर्निर्माण गर्न चाँडो गर्न माग गरे ।

सांसद देवेन्द्र पौडेलले बाढीका कारण भत्किएका सडकखण्ड समयमै निर्माण गर्नुपर्ने जोड दिए । सांसद डा. धवलशमशेर राणाले राजतन्त्रबारे अनावश्यक टिप्पणी गर्न जरुरी नभएको बताए ।

सांसद ध्रुवबहादुर प्रधानले बाजुरामा ढुंगाले हानेर गाईको हत्या गरिएकामा विरोध जनाउँदै कारबाहीको माग गरेका छन् । सांसद निशा डाँगीले ‘डिजिटल’ कारोबार निःशुल्क गर्नुपर्नेमा जोड दिइन् ।

सांसद पुष्पबहादुर शाहले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन हुनुपर्ने र क्षतिपूर्ति समयमा नै पाउनुपर्ने बताए । सांसद प्रकाश ज्वालाले लोकसेवामा परीक्षामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्न लागिएको विषय गलत भएको बताए । उनले कुनै नागरिकलाई परीक्षामा सहभागी नै हुन नपाउने विषय संविधानको भावनाविपरीत भएको बताए । सांसद प्रतिमा गौतमले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धनका लागि विधेयक ल्याउनुपर्नेमा जोड दिइन् ।

सांसद प्रतीक्षा तिवारीले संविधानमै नभएको व्यवस्था टेकेर राजा फर्काउन सकिन्छ भन्ने भ्रम नछर्न आग्रह गरिन् । सांसद प्रभु हजराले पर्सालाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरे। सांसद वासुदेव घिमिरेले समृद्धिको आधार पर्यापर्यटन भएको भन्दै पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्ने बताए।

सांसद विन्दबासिनी कंसाकारले खानेपानीको संकट गहिरिएको र गुणस्तरीय खानेपानी पाउन नसकिएको भन्दै पानीको गुणस्तर परीक्षण गर्न आवश्यक रहेको बताइन् । शून्य समयमा सांसदहरू विमला सुवेदी, पूर्णबहादुर घर्तीमगर, प्रेमबहादुर महर्जन, डा. नारायण खड्का, नारायणी शर्मा र निर्मला काइरालाले विभिन्न समसामयिक विषयमा धारणा राखेका थिए । रासस