
काठमाडौं महानगरपालिकाले गर्यो बालिकाको उद्धार, बन्दी प्रत्यक्षीकरणको मुद्दामा अदालतबाट महानगरको पक्षमा फैसला
देशको संघीय राजधानी काठमाडौंमै एक बालिकामाथि घरभित्रैबाट बाल यौन दुर्व्यवहार भएको छ । काठमाडौं महानगरपालिकाले ती बालिकालाई उद्धार गरेकोमा प्रहरीले दुर्व्यवहारमा संलग्न सहोदर बुबा तथा दाइ (ठुलोबुबाको छोरा)विरुद्ध मुद्दा दायर गरेको छ ।
काठमाडौं महानगरपालिका–४ बस्ने ४५ वर्षीय व्यक्तिले आफ्नै छोरीमाथि लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएको महानगरपालिकाले जनाएको छ । बुबासँगै दाजुविरुद्ध पनि मुद्दा दायर भएको हो । दुवैजना धरौटीमा छुटेकोमा हाल मुद्दा विचाराधीन छ ।
कक्षा ७ मा अध्ययनरत ती बालिकामाथि यौन दुर्व्यवहार हुँदै आएको सूचना गत ४ पुसमा महानगरपालिकाको हटलाइनमा आएको थियो । तत्कालै महानगरपालिकाले उद्धार गरेर उनलाई बालमनोपरामर्श दिएको थियो । जस क्रममा बालिकाले आफूमाथि ३ कक्षामा पढ्दादेखि नै यस्तो दुर्व्यवहार हुँदै आएको बताएपछि प्रहरीमा उजुरी परेर अनुसन्धान भई मुद्दा दायर भएको हो ।
बालिका हाल महानगरपालिकाकै संरक्षणमा एक संस्थामा बसेर पढ्दै आएकी छिन् । उनलाई महानगरपालिकाले गैरकानुनी रूपमा संरक्षणमा राखेको भन्दै परिवारले मुद्दा दायर गरेकोमा उच्च अदालत पाटनले महानगरपालिकाकै पक्षमा आदेश दिएको छ । न्यायाधीश अञ्जु उप्रेती ढकाल र टीकाराम आचार्यको संयुक्त इजलासले निवेदकको मागबमोजिम ‘निजको छोरीलाई जिम्मा लगाउनुपर्ने अवस्था देखिएन’ भन्दै महानगरपालिको पक्षमा फैसला सुनाएको हो ।
‘यसमा निवेदकको छोरीउपरमा निजको बाबु तथा दाजुसमेतले बाल यौन दुरुपयोग गरेको भन्ने जाहेरी परी काठमाडौं जिल्ला अदालतमा मुद्दा परी विचाराधीन रहेको भन्ने देखिएको, निवेदकको छोरीलाई काठमाडौं महानगरपालिकाको अनुरोधमा अस्थायी संरक्षण संस्थामा संरक्षण दिई राखिएको पाइएको, उक्त संस्थाले यौन हिंसामा परेका बालबालिकालाई परामर्श, शिक्षा तथा संरक्षण दिई आएको र समय–समयमा आमासँग भेटघाट गर्न दिइरहेको भन्ने देखिएको र बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५० को उपदफा (८)को व्यवस्थासमेतका आधारमा निवेदन दाबीबमोजिम गैरकानुनी नियन्त्रणमा राखेको भनी मान्न सकिएन,’ गत २५ फागुनको फैसलामा भनिएको छ, ‘तसर्थ, निवेदकको मागबमोजिम निजको छोरीलाई जिम्मा लगाउनुपर्ने अवस्था देखिएन । निवेदकले आफ्नो छोरीलाई भेट्न मागेका बखत भेटघाट गर्न दिनु, सोको प्रबन्ध मिलाइदिनु भनी विपक्षी काठमाडौं महानगरपालिका र संस्थाका नाममा आदेश जारी हुने ठहर्छ ।’
७३ बालबालिकाको उद्धार
काठमाडौं महानगरपालिकाले विगतमा पनि हिंसा र शोषणमा पर्दै आएका बालबालिकाको उद्धार गर्दै आएको छ । काठमाडौं महानगरपालिकाका बालकल्याण अधिकारी शान्ता पहाडीका अनुसार वैशाखयता हालसम्म ४१ बालक र ३२ बालिका गरी ७३ बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३८ जना बाल संरक्षणगृहमा छन् भने ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ । उद्धारपछि सातजनाको मुद्दा न्यायिक प्रक्रियामा अघि बढाइएको छ, जसमा चारजनाको जबर्जस्ती करणी, दुईजनाको बाल यौन दुर्व्यवहार र एकजनाको कुटपिट तथा दास बनाइएको घटना समावेश छन् । महानगरपालिकाले लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको घरबाट समेत एक बालिकाको उद्धार गरेको थियो । जसमा महानगरपालिकाले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकोमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि हाल राष्ट्रिय मानवअधिकार आयोगले सो घटनाको अनुसन्धान गरिरहेको छ ।