मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
अलेक्ज्यान्डर रोन्डोस
पेटन नोफ
२o८१ चैत ४ सोमबार १o:११:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

नदोहोरियोस् अर्को इथियोपिया–इरिट्रिया युद्ध

Read Time : > 3 मिनेट
अलेक्ज्यान्डर रोन्डोस
पेटन नोफ
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १o:११:oo

इथियोपियाली सरकारले सन् २०२२ नोभेम्बरमा टिग्रे क्षेत्रको प्रतिद्वन्द्वी क्षेत्रीय सरकारसँग एक युद्धविराम सम्झौतामा हस्ताक्षर गर्‍यो । प्रिटोरिया सम्झौता भनिने त्यस सहमतिले २१औँ शताब्दीको सबैभन्दा घातकमध्ये एक द्वन्द्व अन्त्य गर्‍यो । लाखौँको संख्यामा सेना, दशौँ हजार यान्त्रिक एकाइ र वायुशक्ति प्रयोग भएको यो युद्धलाई आधुनिक सोम्मेको युद्ध मान्न सकिन्छ । सोम्मेको युद्ध पहिलो विश्वयुद्धका क्रममा लडिएकामध्ये सबैभन्दा ठुलो संघर्ष थियो, जुन सन् १९१६ मा फ्रान्सको सोमे नदीको किनारमा लडिएको थियो । विश्वसनीय अनुमानका अनुसार इथियोपियाको केन्द्र सरकार र टिग्रेको क्षेत्रीय सरकारबिचका युद्धमा मर्नेको संख्या ६ लाख नाघेको देखाउँछन् । यो संख्या वास्तविक मृत्यु संख्याभन्दा कम हुन सक्छ, धेरै होइन ।

प्रिटोरिया सम्झौताले इरिट्रिया र सुडानसँग जोडिएको इथियोपियाको उत्तरी प्रान्त टिग्रेमा अन्तरिम शासन स्थापना गर्ने व्यवस्था गरेको थियो । मार्चको मध्यमा त्यस प्रशासनले दोस्रो वर्ष टेक्दै गर्दा अहिले यो गम्भीर अवस्थामा छ । अबीले ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)’लाई कमजोर बनाउने प्रयास गर्दा इथोपियाली गृहयुद्ध चर्किएको थियो । सन् २०१८ मा प्रधानमन्त्री अबी अहमद सत्तामा आउनुअघिसम्म टिपिएलएफ देशभित्र मात्र त्यस भेगमै प्रभुत्व जमाएर बसिरहेको थियो । उसले सो शक्ति सन् १९९० को दशकमा इथियोपियाको कम्युनिस्ट तानाशाही शासन ‘डर्ग’लाई ढाल्ने आन्दोलनको नेतृत्व गरेपछि हासिल गरेको थियो । 

युद्ध रोक्न नसकेमा अहिले कंगो, सुडान र युक्रेनमा चलिरहेको संकटभन्दा ठुलो स्तरको द्वन्द्व उत्पन्न हुनेछ । त्यसको प्रभाव मुख्य युद्ध क्षेत्रमा मात्र सीमित नभएर सम्पूर्ण लालसागर क्षेत्रमा हुनेछ । 

अबीको आक्रमणपछि टिपिएलएफ कमजोर बन्यो । अहिले यो पार्टीभित्रका प्रतिद्वन्द्वी समूहबिचको संघर्षमा फसेको छ । एउटा गुटको नेतृत्व फ्रन्ट अध्यक्ष डेब्रेट्सन गेब्रेमाइकलले गरिरहेका छन् भने अर्कोको अन्तरिम प्रशासनका अध्यक्ष गेटाचेउ रेडाले गरिरहेका छन् । राजनीतिक प्रतिद्वन्द्विताको असर ‘टिग्रेयन डिफेन्स फोर्सेस (टिडिएफ)’मा पनि पर्न थालेको छ । पछिल्लो युद्धमा देशको केन्द्रीय सैनिक र छिमेकी इरिट्रियाको सेनासँग लडेको समूह अहिले आफूआफूमै विभाजित भएको छ । मार्च १० मा गेटाचेउले तीन वरिष्ठ सेना कमान्डरहरूलाई हटाउन आदेश दिए । तिनले डेब्रेट्सनको गुटसँग मिलेर अन्तरिम प्रशासनविरुद्ध षड्यन्त्र रचेको उनको आरोप थियो । मार्च ११ मा, असन्तुष्ट टिडिएफ एकाइहरूले पूर्वी टिग्रे क्षेत्रका कैयौँ सरकारी एकाइ कब्जामा लिएको रिपोर्टहरू बाहिरियो । तनावका बिच टिग्रेको प्रशासनविरुद्ध विद्रोेह वा त्यहाँ केही नेताहरूको हत्याको जोखिमलाई अब बेवास्ता गर्न सकिँदैन ।

बढ्दो क्षेत्रीय र अन्तर्राष्ट्रिय अव्यवस्थाको बिचमा, टिग्रेमा राजनीतिक र सुरक्षा अवस्था बिग्रँदै गएको छ । यस अवस्थाले कुनै पनि समय इथियोपिया र इरिट्रियाबिच युद्ध भड्काउन सक्छ । इथोपिया–टिग्रेबिचको युद्धले नजिकैको सुडानमा चलिरहेको गृहयुद्धलाई थप बढाउन सक्छ । अन्ततः समग्र हर्न अफ अफ्रिकामै थप अस्थिरता उत्पन्न हुन्छ । ‘हर्न अफ अफ्रिका’का घटनाक्रमलाई लालसागरको नियन्त्रणका लागि खाडी देशहरूबिचको प्रतिद्वन्द्विताको सन्दर्भमा हेर्नुपर्छ । उदाहरणका लागि, इथियोपिया संयुक्त अरब इमिरेट्स(युएई)सँग नजिक देखिएसम्म साउदी अरेबियाले लालसागरको तटमा इथियोपियाको सैन्य उपस्थितिलाई स्वागत नगर्न सक्छ । 

सन् १९९३ मा इथोपियाबाट स्वतन्त्र भएदेखि इरिट्रियामा इरिट्रियाको सरकार इरिट्रिया पिपुल्स लिबरेसन फ्रन्ट (इपिएलएफ)ले चलाइरहेको छ । इथोपियामा रहँदा डर्गविरुद्धको संघर्षमा इपिएलएफ र टिपिएलएफ संयुक्त रूपमा लडेका थिए । तर, १९९० को दशकको मध्यदेखि यी दुई पार्टीबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गयो । तिक्तता बढ्दै गएपछि सीमा विवादलाई कारण देखाउँदै सन् १९९८ मा इथियोपिया र इरिट्रियाबिच युद्ध नै भयो ।

सन् २०१८ मा अबी अहमद इथियोपियाको प्रधानमन्त्री बनेपछि उनले टिपिएलएफको शक्तिलाई कमजोर पार्नका लागि उसको प्रतिद्वन्द्वी इरिट्रियाका राष्ट्रपति इसियास अफवेर्कीसँग मेलमिलापको नीति लिए । यही घनिष्टताका कारण टिग्रेली सेनाविरुद्धको पछिल्लो द्वन्द्वमा इथियोपियालाई इरिट्रिया सरकारले सैन्य सहयोग ग¥यो । इथियोपियाको केन्द्र सरकार र इरिट्रियाबिचको सैन्य गठबन्धन प्रिटोरिया सम्झौताद्वारा तोडिएको थियो । सम्झौतामा इरिट्रियाले इथोपियाभित्र रहेका उसका सेना फिर्ता लिर्नुपर्ने बुँदा समेटिएको छ । तर, इरिट्रियाली नेता इसियास सो सम्झौतामा हस्ताक्षरकर्ताको रूपमा समावेश गरिएका थिएनन् । 

पछिल्लो समय इथोपिया–इरिट्रियाको सम्बन्धमा अविश्वास हाबी देखिन्छ । दुई देशले पारस्परिक दोषारोपण लगाइरहेका छन् । अदिस अबाबाले इसियासको सरकारमाथि प्रिटोरिया सम्झौतालाई कमजोर बनाएको र टिग्रे क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाइरहेको छ । त्यस्तै, इथियोपियामा सक्रिय अन्य विद्रोही समूहहरूलाई पनि उसले समर्थन गरेको आरोप लगाइएको छ ।

आस्माराले भने भूपरिवेष्टित इथियोपियाको लालसागरमा पहुँच पाउन यस्तो विवाद निकालेको मान्दै आएको छ । इथियोपिया फेरि इरिट्रियालाई कब्जामा लिने र उसका असाब र मसावास्थित बन्दरगाहमाथि पकड बनाउने दाउमा रहेको उसको विश्वास छ । अहिले इथियोपियाली संघीय सेना, इरिट्रियाको रक्षा बल र टिग्रे डिफेन्स फोर्सेस सबै तीव्र रूपमा परिचालन भइरहेका छन् । तिनको तैनाथीको गति र परिणामले द्वन्द्व कुनै पनि वेला भड्किने संकेत दिन्छ । टिग्रेको अन्तरिम प्रशासनका उपराष्ट्रपति तथा अफ्रिकाका अग्रणी जनरलमध्ये एक सद्खान गेब्रेटेन्साईले मार्च १० मा यस विषयमा सार्वजनिक चेतावनी नै दिए । एकपटक फौज परिचालित भरिएपछि तिनलाई पुनः ब्यारेकमा फर्काउन गाह्रो हुन सक्छ । त्यसैले संयमता तथा नियन्त्रणका कदम चाल्न ढिलो गर्नुहँुदैन ।

युद्ध भड्किएमा द्वन्द्व महिनौ र वर्षौंँ लम्बिने सम्भावना छ । लालसागरको दुवैछेउका ठुलो भूभाग यस युद्धबाट प्रभावित हुनेछ । मध्यपूर्व र अझ टाढाका बाह्य शक्तिको यस युद्धमा चाख हुनेछ । सरल भाषामा भन्दा, टिग्रेमा अब हुने युद्ध टिग्रे मात्र सीमित रहने छैन । हर्न अफ अफ्रिका पहिलेदेखि सुडानको गृहयुद्धको बाछिटाबाट पीडित छ । गृहयुद्धले अहिले विश्वकै सबैभन्दा ठुलो मानवीय संकट उत्पन्न गरेको छ । युद्धमा छिमेकी इथियोपिया, टिग्रे र इरिट्रिया मात्र होइन मध्यपूर्वी शक्तिहरू कुनै न कुनै रूपमा संलग्न भएका छन् । 

सुडानी सेनाले टिग्रे युद्धको समयमा टिग्रे डिफेन्स फोर्स (टिडिएफ)लाई शरण र आपूर्ति प्रदान गरेको थियो । अहिले टिडिएफका एकाइ र इरिट्रियाली रक्षा बलले सुडानी सेनालाई सघाइरहेको छ । सुडानको छिमेकी दक्षिण सुडान ठुलो हिंसाको सँघारमा छ । सोमालियामा सोमाली सरकार र इस्लामी लडाकुहरूबिचको द्वन्द्व अझै रोकिएको छैन । इरिट्रियाको तटबाट १८० माइल मात्रै टाढा रहेको यमनका हुथीहरूले लालसागरका ढुवानीमाथको आक्रमण जारी राखेका छन् । 

इथियोपिया र इरिट्रियाबिचको युद्ध भड्कियो भने त्यसले उत्तर–पूर्वी अफ्रिका र भूराजनीतिक रूपमा महत्वपूर्ण लालसागरलाई पनि आफूसँगै लपेट्नेछ । यसले सुडानको हिंसामा आगोमा घ्युको काम गर्नेछ । अर्को अफ्रिकी देश चाडलाई थप अस्थिर बनाउनेछ । पहिलेदेखि आतंकसँग लडिरहेको साहेल उठ्नै नसक्ने द्वन्द्वमा तानिनेछ । इथियोपिया–इरिट्रियाको तनाव यस बिन्दुमा पुगिसक्यो कि अब द्वन्द्व रोक्न बहुपक्षीय समिति गठन गरेर कूटनीतिक प्रयास सुरु गर्ने समय पनि बाँकी छैन । सबैभन्दा छिटो प्रभावका लागि ती देशमाथि निर्णायक प्रभाव भएका साउदी अरेबिया र युएईजस्ता देशहरूले सम्भावित द्वन्द्वलाई रोक्न तत्काल आह्वान गरिहाल्नुपर्छ । अन्यथा त्यहाँको द्वन्द्व लालसागर हुँदै फैलिएर तिनै दैलोमा आइपुग्नेछ । 

प्रिटोरिया सम्झौतालाई सुदृढ पार्न पश्चिमी र मध्य–पूर्वी राज्यहरूको गठबन्धनको उच्च दबाब दिएमा द्वन्द्वतर्फ उन्मुख खेलाडी र तिन समर्थकहरूलाई केही समय रोक्न सक्छ । यसले गम्भीर र व्यावहारिक कूटनीतिका लागि समय बचाउनेछ । त्यसो गर्न नसकेमा अहिले कंगो, सुडान र युक्रेनमा चलिरहेको संकटभन्दा ठुलो स्तरको समस्या उत्पन्न हुनेछ । त्यसले सम्पूर्ण लालसागर क्षेत्रमा अराजकता सिर्जना गर्ने पक्का छ । 
फरेन पोलिसीबाट