
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य सचिव नीराजन बम आइतबार साँझ रिहा भएका छन् । उनलाई आइतबार बिहान मकवानपुर प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको थियो । चितवन प्रहरीको सहयोगमा पक्राउ परेका बमलाई आइतबार दिउँसो मकवानपुर ल्याइएको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा माओवादी केन्द्र मकवानपुर, राप्रपा र सुरक्षा निकायका प्रमुखहरूबिच बसेको बैठकले सदस्य सचिव बमलाई राप्रपा मकवानपुरको जिम्मा लगाएको हो । सदस्यसचिव बमलाई माओवादी केन्द्रका मकवानपुर इन्चार्ज भीम पाख्रिनको रोहवरमा राप्रपा मकवानपुरका कार्यवाहक जिल्ला अध्यक्ष सागर थापाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
राप्रपा मकवानपुरका कार्यवाहक जिल्ला अध्यक्ष थापाको बमलाई निःसर्त छोडिएको दाबी गरे । उनले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहितको उपस्थितिमा माओवादी केन्द्र मकवानपुरका केन्द्रीय सदस्य विजय गौतम, जिल्ला इन्चार्ज भीम पाख्रिनलगायत सुरक्षा निकायका प्रमुखहरूबिचमा छलफल भई राप्रपाका युवा नेता बमलाई रिहा गरिएको बताए ।
यसअघि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य शनिबार हेटौँडामा भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको भन्दै सचिव बमलाई आइतबार पक्राउ गरिएको थियो । कालीकोट घर भएका राप्रपाका नेता बमलाई चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरेको थियो । हेटौँडाबाट चितवन हुँदै काठमाडौं जाने तयारीमा रहेका उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गर्न गृह मन्त्रालयबाटै ठाडो आदेश आएको प्रहरी स्रोतले जनायो । सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको तस्बिर जलाउँदासमेत गृह प्रशासन मूकदर्शक बनेको भन्दै विरोध भएपछि बमलाई पक्राउ गर्न दबाब आएको प्रहरी स्रोतको दाबी छ । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सामाजिक सञ्चाल फेसबुकमा लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने भन्दै फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु नहुने विचार व्यक्त गरेका थिए ।
शनिबार हेटौँडामा भएको राप्रपाको युवा संगठन मकवानपुर जिल्ला अधिवेशनका क्रममा सदस्यसचिव बमले प्रचण्डको तस्बिर जलाएका थिए । अधिवेशमा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् ।
उनले खल्तीबाट प्रचण्डको फोटो निकालेर तपाईंहरूले यो मान्छे त चिन्नुहुन्छ होला नि हाेइन ? भन्दै सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाएका थिए । गत बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्तिचोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि राप्रपाले त्यसको विरोध गर्दै आएको छ ।