
जिल्लाको पँलाता गाउँपालिका– ९ बालुवास्थित कर्णाली नदी तर्ने क्रममा एकजना युवक बगेर बेपत्ता भएका छन् । बालुवा बजारदेखि पचालझरना गाउँपालिका– ६ नानिकोट जानका लागि ड्रममाथि पटारा ठोकी रसीको सहायताले नदी तर्ने क्रममा युवा बगेर बेपत्ता भएका हुन् ।
डुंगामा सवार चारजनामध्ये डुंगा पल्टिँदा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका १० निवासी वर्ष २३ का देवनाथ सेजुवाल नदीमा बेपत्ता भएको प्रहरी निरीक्षक किशोर केसीले बताए । उनले भने कर्णाली करिडोरमा काम गर्न आएका सेजुवालको खोजीकार्य जारी छ ।
उनको खोजीकार्यका लागि इप्रका थिर्पुबाट प्रसनि भीमबहादुर सुनारको कमान्डमा तीनजनाको टोली खटिएको छ । बिहान ७ः३० मिनेटको समयमा नदी पार गर्ने क्रममा उक्त घटना घटेको हो । अहिले उनको खोजीकार्य जारी छ ।
कर्णाली करिडोरको कालिकोट पलाता– ९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किलाेमिटर चट्टान विस्फाेटनसहित नेपाली सेनाले जिम्मा लिएर निर्माण गरिरहेको छ । उक्त सडक हाल घुमाउरो बाटो हुँदै नानीकोटको बोलु गाउँबाट घाटपारी चौर झारिएको छ । कर्णाली नदीको तीरैतीर ट्याग खुलेपछि १० किलोमिटर छोटो पर्छ ।