काठमाडौं । मलेसिया जाने कामदारमाथि ठगीमा सघाएको आरोपमा तत्कालीन दुई सचिव पनि अनुसन्धानमा तानिएका छन्। तत्कालीन सचिव विनोद केसी पक्राउ परेका छन् भने अर्का सचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अर्याल पछि मुख्यसचिव भएका थिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार तत्कालीन दुई मन्त्रीसहित ६ जनालाई पक्राउ गरिसकेको छ । तत्कालीन मन्त्रीहरू रामेश्वर राय यादव, शेरबहादुर कुँवर, सचिव केसी सहसचिवहरू राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङलाई पक्राउ गरेको हो । त्यसवेला श्रमसचिव रहेका अर्यालको पनि मिलेमतो देखिएको भन्दै उनलाई पनि पक्राउ गर्न सिआइबीले अनुमति दिएको छ ।
०७६ सालयता मलेसिया जाने सात लाख ५० हजार कामदारसँग साढे दुई अर्ब रकम अतिरिक्त असुलिएको र त्यो रकम बैंकिङ च्यानलबाटै मलेसिया पठाउन सघाएको आरोप उनीहरूमाथि छ। यसमा व्यवसायी कैलाश खड्कालगायतमाथि यसअघि नै सिआइबीले पक्राउ गरी संगठित अपराधको कसुरको अनुसन्धान गरिरहेको छ।