
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै कुरामा निपुण छन् भने त्यो हो लोक रिझ्याउने कला । मतदाताको भय र पूर्वाग्रहलाई भड्काएर उनले आफैँ, आफ्ना परिवार र उनका धनाढ्य सहयोगीको फाइदाका लागि चरम नीति अघि सार्ने वा तिनबाट ध्यान मोड्ने काम गर्छन् । उनको सफलताको प्रमुख रहस्य भनेकै कुन ‘बटन’ अर्थात् भाष्य प्रचार गर्दा जनताको भावना उद्वेलित हुन्छ भन्ने बुझ्नु हो । ट्रम्पले भन्सार शुल्क वृद्धि गर्ने नीति अपनाउनु यसकै एउटा उदाहरण हो । ‘फ्याक्टर–प्राइस इक्वलाइजेसन’ सिद्धान्तअनुसार लामो समयसम्म स्वतन्त्र व्यापार हुँदा समान उत्पादन कारक (श्रम) को मूल्य विश्वभर बराबर हुने प्रवृत्ति देखिन्छ । तथापि, चीन वा भियतनामका मजदुरको पारिश्रमिक तत्कालै अमेरिकीस्तरमा पुग्ने सम्भावना कम छ ।
धेरै अमेरिकी श्रमिक आय स्थिर भएकामा निराश छन् र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले रोजगारी खोस्छ कि भनेर त्रस्त छन् । तसर्थ, जब यी श्रमिकलाई कसैले खुला व्यापारले उनीहरूको पारिश्रमिक घटिरहेको छ वा रोजगारी विदेश सर्दै छ भनिन्छ तब श्रमिक त्यो कुरा ध्यानपूर्वक सुन्छन् ।‘टेरिफ म्यान’ अर्थात् भन्सार असुली गर्ने व्यक्ति भनेर चिनिने ट्रम्पले अमेरिकाका व्यापार साझेदारलाई कर लगाउँदै तिनले अमेरिकामाथि ‘दुव्र्यवहार’ गर्न नपाउने दाबी गर्छन् । उनका अनुसार भन्सार शुल्क वृद्धिले अमेरिकी श्रमिकको रक्षा गर्नेछ, तर समस्या के छ भने भन्सार शुल्कले यसरी काम गर्दैन । शुल्क विदेशी निर्यातकर्ताले नभई अमेरिकी आयातकर्ताले तिर्छन्, नतिजा कुल लागत उपभोक्ताको थाप्लोमा पर्छ वा आयातकर्ता आफ्नै नाफा कटौती गर्न बाध्य हुन्छन् । यसरी अमेरिकी सरकारले अलि धेरै कर आम्दानी त गर्न सक्छ, तर त्यसका लागि अमेरिकी व्यापार–व्यवसाय र उपभोक्ताले मूल्यवृद्धिको मार बेहोर्नुपर्छ, जुन ट्रम्पले आफ्नो चुनावी अभियानमा घटाउने वाचा गरेका थिए ।
ट्रम्पले ‘अवैध’ भनेर चित्रण गर्ने अनधिकृत आप्रवासीसमेत अमेरिकी अर्थतन्त्रका लागि अपरिहार्य छन्
गत महिना ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत शुल्क लगाएपछि चीनले प्रतिक्रियास्वरूप नयाँ भन्सार शुल्कको घोषणा गरेको छ । र, अहिले ट्रम्पले थप १० प्रतिशत शुल्क बढाएका छन् । त्यसैगरी, क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत शुल्क लगाएका छन्, जसले अझ बढी प्रतिकारात्मक शुल्क निम्त्याउनेछ । जब भन्सार शुल्क युद्ध गहिरिन्छ तब लागत अत्यधिक बढ्नेछ । युरोपियन युनियन (इयू) ले पनि स्टिल र एल्युमिनियममा हालै लगाइएको २५ प्रतिशत शुल्कजस्ता ‘अन्यायपूर्ण’ व्यापार अवरोधको कडा प्रतिरोध गर्ने बताइसकेको छ । उसो त ट्रम्पले इयूलाई ‘अमेरिकालाई ठग्न बनाइएको’ संस्थाको संज्ञा दिएका छन् । ट्रम्पलाई शुल्कवृद्धिको खेलमा अमेरिकी व्यापार साझेदार नै झुक्नेछन् भन्ने लागेको छ । अर्थात्, तिनले अमेरिकी माग स्विकार्न बाध्य हुनुपर्छ, चाहे त्यो व्यापार घाटा कम गर्ने कुरा होस् वा अमेरिका हुँदै आउने फेन्टानिलको तस्करी रोक्ने कुरामै किन नहोस् । उनले केही आफूअनुकूल सम्झौता हासिल गर्न सक्लान्, तर इतिहासले स्पष्ट कोही पनि व्यापार युद्धमा विजयी नहुने देखाएको छ ।
ट्रम्पको आप्रवासन नीति उनको भयको राजनीतिको अर्को उदाहरण हो । यहाँ फ्याक्टर–प्राइस इक्वेलाइजेसन अवधारणा थप सान्दर्भिक हुन्छ किनभने आप्रवासनले देशबिच ज्यालालाई समान बनाउन मद्दत गर्छ । पूर्ण समानता प्राप्त गर्न सीमाविहीन श्रम आवागमन आवश्यक पर्छ, जुन असम्भव छ । तर, ट्रम्पले धेरै अमेरिकी मतदातालाई आप्रवासीले उनीहरूको आर्थिक र शारीरिक सुरक्षामा गम्भीर खतरा पुर्याउँछन् भनेर विश्वास दिलाउन सफल भएका छन् ।यसैकारण, धेरैले उनको सामूहिक निर्वासन अभियानलाई समर्थन गरेका छन्, जसमा अपराध रेकर्ड नभएका व्यक्ति पक्राउ पर्ने, एसियाली आप्रवासीलाई मध्यअमेरिकी देशमा पठाइने र अभिभावकविहीन बाल आप्रवासीलाई तारो बनाउनेजस्ता गतिविधि समावेश छन् । विरोधाभास के छ भने अमेरिका स्वयं ‘आप्रवासीको देश’ हो । ट्रम्पले ‘साँचो अमेरिकी’ भन्नेहरू सबै आप्रवासीका सन्तान हुन्, जब कि मूल अमेरिकी अध्यागमन अधिकारीबाट सोधपुछ र नियन्त्रणमा परिरहेका हुन्छन् ।
अमेरिकाको समृद्धि र पहिचानमा आप्रवासी सधैँ महत्वपूर्ण छन् । सन् २०२२ मा यिनले १६ खर्ब डलरको आर्थिक गतिविधि सिर्जना गरे र पाँच सय ७९ अर्ब डलरभन्दा बढी कर तिरेका छन् । सन् २०२३ मा तिनको कर योगदान ६ अर्ब ५१ करोड ९० लाख डलर पुगेको थियो । ट्रम्पले ‘अवैध’ भनेर चित्रण गर्ने अनधिकृत आप्रवासीसमेत अमेरिकी अर्थतन्त्रका लागि अपरिहार्य छन् । कृषि र अन्य न्यून–तलबका काम स्थानीयले गर्न नचाहने हुँदा आप्रवासीले भरथेग गर्छन् । एक अध्ययनअनुसार, १३ लाख अनधिकृत आप्रवासी निष्कासन गरिए, सन् २०२८ सम्म अमेरिकी कुल गार्हस्थ्य उत्पादन १.२ प्रतिशतले घट्नेछ र रोजगारी दर १.१ प्रतिशत खस्कनेछ ।
सन् २०२२ मा मात्र अनधिकृत आप्रवासीले लगभग ७६ अर्ब डलर कर तिरेका थिए । यस परिस्थितिमा भयको राजनीतिले अमेरिकालाई अँध्यारो दिशातर्फ लैजाँदै छ । त्यसैले ट्रम्पविरोधी विशेषतः डेमोक्र्याट नेताले कडा प्रतिक्रिया जनाउनुपर्छ, अर्थात् केवल भावना प्रदर्शन मात्र नभई गम्भीर एवं सुझबुझपूर्ण रणनीति अपनाउनुपर्छ । यसका लागि श्रमिक वर्गका मतदातासँग संवाद गर्दै वास्तविक तथ्य बुझाउनु आवश्यक छ । त्यसैगरी, श्रमिकका जायज चिन्तालाई बेवास्ता नगरी समाधान खोज्ने नयाँ नीति विकास गर्नुपर्छ । नत्र ट्रम्प र उनका समर्थकले जनताको निराशा, पूर्वाग्रह र भयलाई भड्काएर लोकतन्त्र नष्ट गर्ने, एकतन्त्रात्मक शासन लाद्ने र दोस्रो विश्वयुद्धपछि कायम रहेको विश्वव्यवस्थालाई ध्वस्त पार्ने प्रयास जारी राख्नेछन् ।
(जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेका विशेष सल्लाहकार हमादा येल विश्वविद्यालयका एमरेट्स प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट