
प्रधानमन्त्री केपी ओलीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको वुमेन लिडरसिप समिट २०२५ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकोमा जोड दिए । ‘महिला र पुरुषससहितको समान सहभागिताबाट सिंगो समाजलाई अगाडि बढाउनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो, तर हामी यसमा मात्रै सन्तुष्ट मानेर बस्नुहुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरणको प्रवद्र्धनलाई प्राथमिकता दिएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरेका थिए । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले ‘महिला नेतृत्व सम्मेलन’ केवल सम्मेलन मात्रै नभएर महिलाहरूलाई आर्थिक, सामाजिक, राजनीतिक एवं समावेशिताका साथ अगाडि बढाउने तथा प्रोत्साहन गर्ने एउटा अभियान पनि भएको बताए ।