मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार १२:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालाबन्दी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १२:१४:oo

नवलपुरको स्ववियु निर्वाचन हुने भनिएका सबै क्याम्पसमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरिदिएका छन् । नवलपुरका १० वटा क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । नवलपुरमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने सम्भावना बढेको छ । विभिन्न माग राख्दै विद्यार्थी संगठनले क्याम्पसहरूमा तालाबन्दी गरेपछि निर्धारित मितिमा चुनाव नहुने सम्भावना बढेको हो ।

विद्यार्थी संगठनहरूले १० वटा क्याम्पसमा स्ववियु चुनाव गराउनुपर्ने माग गरे पनि नाैवटा क्याम्पसले मात्र चुनावी तालिका सार्वजनिक गरेका छन् । ती क्याम्पसहरूमा चैत ५ गते चुनाव हुने कार्यतालिका छ । तर, १० वटै क्याम्पसमा तालाबन्दी भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले जानकारी दिए । 

कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा एस निकटको अनेरास्ववियुले एक हप्तादेखि निर्वाचन कार्यालयमा ताला लगाएकोमा नेविसंघले ताला खोलेको छ भने अनेरास्ववियुले ताला थपेको छ । यो सँगै सबै क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले संगठन दर्तापश्चात् विद्यार्थी संगठनहरूलाई आचारसंहिता बनाउने विषयमा नबोलाएको, चुनावको पूर्वसन्ध्यामा निर्वाचन प्रक्रियालाई प्रभावित गर्ने हेतुले विद्यार्थी भर्नामा व्यापक अनियमितता गरेको र निर्वाचन नगराउने र गराउनुपरे पनि आफूअनुकूल बनाउन प्रयासरत रहेको अनेरास्ववियुका अध्यक्ष भुसालले आरोप लगाए ।

त्यस्तै, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आयुष ढकालले आफूहरूका माग सम्बोधन गर्न क्याम्पस प्रशासनले बेवास्ता गरेको आरोप लगाए । मध्यविन्दु बहुमुखी क्याम्पसका प्रमुख गणेशमान गिरीले विद्यार्थी संगठनहरू विद्यार्थीको फोन नम्बर उपलब्ध गराउनुपर्नेलगायत अनावश्यक माग राखेको बताए। 

क्याम्पस प्रशासन निर्वाचन गराउन प्रतिबद्ध रहे पनि विद्यार्थीको गोपनीयताका लागि फोन नम्बर भने कुनै हालतमा उपलब्ध गराउन नसकिने उनको भनाइ छ । यसअघि जिल्लाका ६ वटा क्याम्पसमा मात्र चुनाव भएको थियो । यसपटक थप चारवटा क्याम्पसमा संयुक्त रूपमा स्ववियु चुनाव गराउन जिल्लामा क्रियाशील चार विद्यार्थी संगठनले माग गरेका छन् ।

यसपटक जनक कलेज गैँडाकोट, जनज्योति कलेज प्रगति नगर, नवजागरण बहुमुखी क्याम्पस, चोरमारा र जनमुखी आदर्श बहुमुखी क्याम्पस गैँडाकोटमा चुनाव हुनुपर्ने विद्यार्थी संगठनको माग छ । चुनावको माग गरिएका सबै क्याम्पसमा दुई सयभन्दा बढी विद्यार्थी रहेको संगठनहरुले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयको तालिकाअनुसार फागुन १९ गते संघ संगठन दर्ता गर्ने, २१ गते मतदाता सूची प्रकाशित गर्ने, फागुन २५ मा मतदाता सूची उपर दाबीविरोध गर्ने समय दिइएको थियो । सोही दिन नै मतदाता सूचीउपर दाबीविरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने र फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका रहेको थियो । जुन प्रभावित भइसकेको छ ।