मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ५ सोमबार
  • Wednesday, 12 March, 2025
घरबाट ट्र्याक्टरमा राखेर लगिएको मानाको शव बैतडीकै पाटन सुर्नयागाडस्थित तिपडाघाटनजिक पुगेपछि बोकेर लैजाँदै
२o८१ फाल्गुण ५ सोमबार o७:३३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

कञ्चनपुरबाट आफन्त आएर २४ घण्टापछि उठाए माना दमाईंको शव

वडाध्यक्ष र वडासदस्य प्रकाशको घर पुगे, तर शव छोएनन्, घाटमा पनि गएनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ५ सोमबार o७:३३:oo
  • आफन्तबाहिरका मलामी  दुईजना मात्रै स् एकजना गाउँका, अर्का डडेलधुराबाट गाउँमा पाहुना आएका
  • संयुक्त राजनीतिक दलित संघर्ष  समितिले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

जातीय भेदभाव गर्दै गाउँले मलामी जान तयार नभएपछि शनिबार बिहान ११ बजेदेखि घरकै आँगनमा लडिरहेको बैतडी सिगास गाउँपालिका– १, अङगेगाडाकी ६१ वर्षीया माना दमाईं (टेलर)को शव २४ घण्टापछि कञ्चनपुरबाट आफन्त आएर उठाएका छन् । अङगेगाडाबाट २५० किलोमिटर टाढा कञ्चनपुरको दोधारा–चाँदनी, महेन्द्रनगर र बैतडीकै पाटनबाट आफन्त आएर आइतबार शव उठाएका हुन् ।

जातीय भेदभाव व्याप्त समाजमा गैरदलित समुदायले मात्रै होइन, दलित समुदायकै अन्य जातका मानिसले पनि मानाको शव छुन इन्कार गरेपछि दाहसंस्कार हुन सकेको थिएन । सिगासका जिप र ट्र्याक्टर व्यवसायीहरूले समेत शव बोक्न नमानेपछि मानाका छोरा प्रकाशले आर्यघाटसम्म शव पु¥याउन पाटनबाटै ट्र्याक्टर बोलाएका थिए । आइतबार आफन्त भेला भएपछि पुख्र्यौली थातथलो पाटनकै सुर्नयागाडस्थित तिपडाघाटमा लगेर दाहसंस्कार गरिएको छ । कुल १८ जना मलामी गएकामा आफन्तबाहेकका दुईजना मात्रै थिए । एकजना गाउँकै २१ वर्षीय ज्ञानेन्द्र ऐरी र अर्का डडेलधुराबाट आफन्तको घरमा आएका नरबहादुर साउद थिए । 

आफूले घटनाबारे जानकारी पाएपछि शोक परेको घरमा शनिबार राति नै गएर सघाएको उनले बताए । ‘मेरो घर डडेलधुरा हो । कामविशेषले आफन्तको घर आएको थिएँ । गाउँमा दुःखद घटना भएको देखेपछि मानवीयता निर्वाह गरेको हुँ,’ उनले भने, ‘राति दाउरा जम्मा गर्न र शव कुर्न खटिएँ, बिहान पीडित परिवारलाई एक हजार सहयोग गरेर घाटसम्मै मलामी पनि बनेँ ।’ 

आमाको मृत्युमा मलामी नपाएर २४ घण्टासम्म शव रुँघेर बस्नुपरेका प्रकाश स्थानीय विद्यालयका शिक्षकसमेत हुन् । गाउँलेले मात्रै होइन, कानुनले वर्जित गरेको सामाजिक कुरीतिलाई त्यहाँका जनप्रतिनिधिले समेत साथ दिएका छन् । जबकि त्यस्ता कुरीति तोड्न उनीहरूले समाजमा अग्रणी भूमिका खेल्नुपर्ने हो । ‘सामाजिक कुरीति’लाई ‘सामाजिक मान्यता’ भनेर झन् स्थापित गराउन सक्रिय देखिन्छन् । सिगासका वडाध्यक्ष रामचन्द्र ऐरी केही सामाजिक मान्यताका कारण शनिबार शव उठ्न नसकेको बताउँछन् । स्थानीयले नै शवयात्राका लागि रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेको पनि बताए । त्यस्तै, सिगास– १ का वडासदस्य धनीराम भट्टले राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसेको बताए । तर, मलामी बन्न किन तयार नभएको भन्ने प्रश्नमा वडासदस्य भट्ट अरू सबै काममा सघाएको भन्दै पन्छिए । 

वडाध्यक्ष रामचन्द्र ऐरी भन्छन्– राज्यलाई नै घचघच्याउने घटना बाहिर आयो, पाठ सिक्नुपर्छ
तपाईंको वडामा जातीय विभेदका कारण एउटी दलित महिलाको शव २४ घण्टासम्म उठ्न सकेन । साढे दुई सय किलोमिटर टाढाबाट आफन्त आएपछि मात्रै शव उठ्यो । गाउँ सरकारको प्रमुख तपाईं छुवाछुतजस्तो जघन्य सामाजिक अपराधको खिलापमा उभिनुपर्ने होइन ? मेरो पनि जिम्मेवारी हो । तर, मैले बेलुका (शनिबार) ५ बजे मात्रै सूचना पाएँ ।

आइतबार बिहान ७–८ बजे लास उठाउन प्रयास गरेँ । कसैको घरमा पनि व्यक्तिको मृत्यु भयो भने आफन्त आउँदासम्म कुर्छन् । प्रकाशको घरमा पनि आफन्त बोलाउनु स्वाभाविक थियो । जुनसुकै सहयोग गर्न पनि म तयार थिएँ । सामाजिक कार्यहरूमा अहिलेसम्म विभेद छैन, सबै ठाउँमा गाउँलेले सघाउँछन् । तर, शव उठाउने सवालमा अहिलेसम्म विभेद नै छ । 

शनिबार त ढिला थाहा पाउनुभयो, तर आइतबार प्रकाशको घर पुगेर पनि शवयात्रामा सहभागी हुनुभएन । शवयात्रामा सहभागी भएर समाजलाई विभेदविरुद्ध सन्देश दिनु तपाईंको दायित्व होइन ? कि तपाईं पनि छुवाछुतको पक्षपाती हो ?

उमेरको कसम भन्छु– समयमै थाहा पाएको भए शनिबारै जाने थिएँ । पुख्र्याैली गाउँमा पनि हामी एकै देवताका मान्छे हौँ, यहाँ पनि हरेक कुरामा सहयोग गर्न तयार छु । मैले भनेँ– शव उठाउने सवालमा यहाँ विभेद छ । कुप्रथाको भूत सबैतिर छ । अब यसमा प्रयास गर्नुपर्छ । स्थानीय सरकारको प्रयास रहन्छ । कमजोरीहरू रहे, देखिने गरेरै सुधार गर्छु । कुप्रथा हटाउन मैले मात्र सम्भव हुँदैन । राज्यलाई नै घचघच्याउने खालको घटना बाहिर आयो, यसबाट पाठ सिक्नुपर्छ ।