
म्यानचेस्टर युनाइटेडले एक लाख दर्शक क्षमताको नयाँ आधुनिक रंगशाला बनाउने घोषणा गरेको छ । दुई अर्ब पाउन्ड बजेटमा युनाइटेडले पाँच वर्षभित्र ओल्ड ट्राफोर्डमै नयाँ रंगशाला बन्ने जनाएको छ । यो बेलायतकै धेरै दर्शक अट्ने रंगशालाको नाममा चिनिने युनाइटेडको भनाइ छ । युनाइटेडका सहमालिक सर जिम राटफिलेले विश्व फुटबलमै एक आइकोनिक रंगशाला बनाउने योजना अगाडि राखेको बताए ।
‘मलाई विश्वास छ ओल्ड ट्राफोर्डमा पाँच वर्षपछि विश्वकै अद्भूत रंगशाला सबैले देख्न पाउनेछन्,’ सर जिमले भने, ‘हामी प्रत्येक दिन जानकारी दिन्छौँ ।’ अहिलेको घरेलु मैदान पुरानो भएकालाई यसलाई पुनर्निर्माण गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका थिए । युनाइटेडका व्यवस्थापनले नयाँ बनाउने कि पुरानैलाई मर्मत गर्ने भन्ने द्विविधामा थिए । तर, सोमबार बसेको मिटिङमा सहमालिक सर जिमले ओल्ड ट्राफोर्डमै आधुनिक नयाँ रंगशाला बनाउने घोषणा गरेको बिबिसीले जनाएको छ ।
सन् १९१० देखि म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डलाई घरेलु मैदानका रूपमा प्रयोग गरिरहेको छ । यस परियोजनाको डिजाइन फोस्टर एन्ड पार्टनरले गरेको छ । ‘नयाँ रंगशालाको डिजाइन बिलकुल अरूको भन्दा फरक छ, पूरै रंगशालाको छतलाई छाताले छोपेको जस्तो देखिनेछ, यसमा दुई स्थानमा स्क्वायर आकारको हुनेछ,’ फोस्टर एन्ड पार्टनरले भनेको छ, ‘झट्ट हेर्दा त्रिशूलजस्तो लाग्न सक्छ ।’ रंगशालामा राखिने छतको चुचुरो दुई सय मिटरको हुनेछ । जुन २५ माइलबाट पनि सहजै देख्न सकिने कम्पनीको भनाइ छ ।
आर्थिक संकटमा युनाइटेड
म्यानचेस्टर युनाइटेडको बृहत् योजना सार्वजनिक हुँदा उसका समर्थक दंग छन् । तर, भित्री रूपमा युनाइटेड आर्थिक रूपमा त्यति बलियो छैन । अहिले युनाइटेडले बजारमा एक अर्ब पाउन्ड ऋण बोकेको छ । यस्तो अवस्थामा युनाइटेड बेलायतकै सर्वाधिक दर्शक अट्ने आधुनिक रंगशाला कसरी बनाउने भन्ने प्रश्न विज्ञहरूले गरेका छन् । ‘योजना सुन्दा आनन्द लाग्छ, तर उनीहरूले दुई अर्ब पाउन्ड कसरी व्यवस्थापन गर्न सक्छ ?’ फुटबल विज्ञहरूले बिबिसीलाई भनेका छन्, ‘अहिले नै बजारमा एक अर्ब पाउन्ड ऋण युनाइटेडको छ ।’
युनाइटेडका कार्यकारी प्रमुख ओमार बेराडाले रंगशाला निर्माण क्रममा केही आर्थिक समस्या नआउने दाबी गरेका छन् । ‘अहिलेको योजना निकै आकर्षित छ, हामीलाई विश्वास छ, रंगशाला निर्माणको क्रममा आर्थिक संकट उत्पन्न हुँदेन, यसको व्यवस्थापन राम्रोसँग हुनेछ,’ ओमारले भने, ‘सन् २०१२ को ओलम्पिक आयोजना क्रममा बनेको स्टाटफोर्डभन्दा युनाइटेडको रंगशाला भव्य हुनेछ ।’
९२ हजारले काम पाउने
नयाँ ओल्ड ट्राफोर्ड रंगशालाको निर्माणमा ९२ हजारले काम पाउने कार्यकारी प्रमुख ओमारले जनाए । रंगशालाको वरिपरि १७ हजार नयाँ घर बन्नेछन् । रंगशाला र अन्य सौन्दर्य हेर्न प्रतिवर्ष १.८ मिलियन भिजिटर आउने विश्वास ओमारले गरेका छन् । ‘हाम्रो योजना सफल हुँदा प्रत्येक वर्ष यहाँ लाखौँ भिजिटर आउनेछन्,’ उनले भने, ‘यसबाट हामी प्रत्येक वर्ष ७.३ अर्ब पाउन्ड आर्जन गर्छौँ ।’ विश्वकै आकर्षकमध्ये एक रंगशालाको निर्माण गर्न बेलायत सरकारले पनि सहयोग गर्ने उनको भनाइ छ । ‘विश्वकै एक नमुना रंगशाला बनाउन सरकारले पनि लगानी गर्ने वाचा गरेको छ,’ उनले भने, ‘सरकारको साथ पाउँदा योजना सफल हुनेछ ।’