
एक साता रोकिएको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गको मुआब्जा वितरण सुरु भएको छ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको आयोजनाले प्रवेशमार्गको छुट मुआब्जाबापत जिल्ला प्रशासन कार्यालयको खातामा रकम पठाएपछि वितरण सुरु गरिएको हो । आयोजनाले ५३ करोड रुपैयाँ जिल्ला प्रशासनको खातामा जम्मा गरिसकेकाले वितरण कार्य सुरु गरिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।
उनका अनुसार सुरुमा आयोजनाले ५३ करोड रुपैयाँ जिल्ला प्रशासनको खातामा जम्मा गर्ने र जग्गाधनीलाई वितरण गर्ने गरी १७ पुसदेखि काम सुरु गरिएको थियो । जसमध्ये पहिलो चरणमा २५ करोड मात्र उपलब्ध गराएकाले सो रकम ६० परिवारलाई वितरण गरिसकिएको छ । तर, आर्थिक अभावमा दुई हप्तादेखि मुआब्जा वितरण रोकिएको थियो ।
घिमिरेका अनुसार आयोजनाले पहिलोमा ६०, दोस्रोमा २२ र तेस्रो चरणमा १९ जनाको मुआब्जा रकम प्रशासनको खातामा पठाएको छ । कुल एक सय ३४ जना छुट जग्गा मुआब्जा पाउन बाँकी रहेकामध्ये अहिले एक सय ११ जनाको निवेदन प्राप्त भएको छ । त्यस्तै, २३ जनाको निवेदन आउने चरणमा रहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।