![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/dp2025-02-12-11-14-55.jpeg)
१० हजार रन बनाएका स्मिथ टेस्टमा सबैभन्दा उच्च ब्याटिङ औसत राख्ने र पोन्टिङको शतकको कीर्तिमान तोड्ने खेलाडी बन्न सक्छन्
बाेर्डर–गवास्कर ट्रफीका दौरान १० हजार टेस्ट रन पूरा गर्न थोरैले चुके पनि स्टिभ स्मिथले श्रीलंकाविरुद्ध सानदार शतक प्रहार गर्दै यो उपलब्धि हासिल गरेका छन् । र, श्रीलंकामाथि अस्ट्रेलियाको २–० को जितमा उनले करिअरको ३६ शतक पनि पूरा गरेका छन् । उनी टेस्ट म्याचमा १० हजार रन बनाउने १५औँ तथा चौथो अस्ट्रेलियन खेलाडी बनेका छन् । सचिन तेन्दुलकर १५ हजार नौ सय २१ रन बनाएर शीर्ष स्थानमा छन्, रिकी पोन्टिङ १३ हजार तीन सय ७८ रन बनाएर दोस्रो र ज्याक कालिस १३ हजार दुई सय ८९ रन बनाएर तेस्रो स्थानमा छन् । स्मिथले दुई सय पाँच इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् र यो पाँचौँ सबैभन्दा छिटो १० हजार रन हो । यसअघि तेन्दुलकर, ब्रायन लारा र कुमार सांगाकाराले एक सय ९५ इनिङ्समा १० हजार रन पार गरेका थिए ।
आधुनिक क्रिकेट शारीरिक, मानसिक र भावनात्मक रूपमा चुनौतीपूर्ण छ, जहाँ खेल तालिकाको दबाबले खेलाडीलाई थप चापमा पार्छ । मनोवैज्ञानिक तनावले पनि प्रदर्शनमा असर पर्छ । आकर्षक टी–२० लिगले टेस्ट सिरिजबिच खेलाडीलाई पर्याप्त आरामको अवस्था छैन । टेस्ट, एकदिवसीय र टी–२० गरी तीनै प्रारूपका खेल खेलिरहेका स्मिथ आगामी जुनमा ३६ वर्षका हुनेछन् ।
१० हजार रन क्लब टेस्ट क्रिकेटमा ब्याटिङ उत्कृष्टताको प्रतीक हो । यस क्लबका सदस्यले कुल एक लाख ८१ हजार नौ सय ४७ रन, पाँच सय ४१ शतक र आठ सय १८ अर्धशतक बनाएका छन् । लाराले सबैभन्दा उच्च व्यक्तिगत रन बनाएका छन् (उनले सन् २००४ मा एकै इनिङमा चार सय अविजित रन बनाएका थिए) । यसबाहेक उनले सबैभन्दा बढी ६०.५१ को स्ट्राइक रेट कायम राखेका छन्, जसलाई पोन्टिङको ५८.७२ को स्ट्राइक रेटले नजिकबाट पछ्याएको थियो र हाल खेलिरहेका जो रुटको ५७.४७ को स्ट्राइक रेट छ र आफ्नो पछिल्लो खेल जीवनमा सुधार गर्दै उनी स्ट्राइक रेटको अन्तर घटाइरहेका छन् । यसविपरीत एलान बोर्डर र सुनिल गवास्करको समय (१९७० को अन्त्यदेखि १९९० को सुरुवातसम्म) मा रन बनाउन गाह्रो थियो, तसर्थ यी दुई क्रिकेट दिग्गजको स्ट्राइक रेट क्रमशः ४१.०९ र ४३.३५ मात्र रह्यो । स्मरण रहोस्, स्ट्राइक रेट प्रत्येक सय बलमा ब्याटरले बनाउने रनको औसत हो, अर्थात्, जति धेरै स्ट्राइक रेट हुन्छ, त्यसैअनुसार रन पनि धेरै हुन्छ । यसका अतिरिक्त उच्च स्ट्राइक रेटले विपक्षी बलरलाई दबाब पनि दिन्छ ।
करिअर सुरुवातको दोस्रो टेस्टमा स्मिथको स्ट्राइक रेट निकै उच्च अर्थात् ७५.७५ थियो । तर, त्यसयता घट्दै ५३.५८ मा आएको छ र उनी सन्तुलित ब्याट्सम्यान बनेका छन् । ब्याट्सम्यानको प्रभाव मापन गर्ने अर्को उपाय भनेको प्रतिइनिङ्समा हुने शतक दर पनि हो । १० हजार रन क्लबमा स्मिथको शतक प्रतिइनिङ्स दर सबैभन्दा उच्च अर्थात् १७.४८ छ । हालै उनले आफ्नो ३६औँ शतक प्रहार गर्दै समकालीन रुटको कीर्तिमान बराबर गरेका छन्, तर रुटले स्मिथको तुलनामा ७२ इनिङ्स बढी खेलेका छन् । कुल शतकको हिसाबले तेन्दुलकर शीर्ष स्थानमा छन्, उनले ५१ शतक प्रहार गरेका थिए (कालिसभन्दा ६ बढी) । तर, उनले यो उपलब्धि तीन सय २९ इनिङ्समा हासिल गरेका थिए, जुन १० हजार क्लबका अन्य खेलाडीभन्दा ३८ इनिङ्सले बढी हो ।
१० हजार रन क्लबका एलान बोर्डर, स्टिभ बाँ, रिकी पन्टिङ र स्टिभ स्मिथ विभिन्न पुस्ताका यी चार अस्ट्रेलियाली खेलाडीले फरक शैली अपनाएर यो महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन् । तथ्यांकअनुसार बोर्डर सबैभन्दा स्थिर खेलाडी थिए, अर्थात् उनको ब्याटिङ औसत खेल जीवनभर स्थिर रह्यो, जबकि स्टिभले कमजोर सुरुवातपछि आफ्नो प्रदर्शन सुधार गरेका थिए । स्मिथले आफ्नो ७५औँ खेलमा उच्च लय भेट्टाएका थिए भने पोन्टिङको उत्कर्ष एक सय १५औँ खेलवरिपरि रह्यो । त्यसपछि यी खेलाडीको रन बनाउने दर घट्न थाल्यो । ब्याटिङ स्थानको हिसाबले स्मिथले अधिकांश रन चौथो स्थानमा आएर बनाएको तथ्यांकले देखाउँछन् । बोर्डर चौथो र पाँचौँ स्थानमा प्रभावशाली थिए, पोन्टिङ तेस्रो स्थानमा हाबी थिए, भने बाँ पाँचौँ स्थानमा ।
स्मिथको उमेर अहिले ३५ वर्ष छ । उनको हालको खेल लय र आधुनिक क्रिकेटका लागि आवश्यक शारीरिक तन्दुरुस्ती मागलाई विचार गर्दा हाम्रो निष्कर्षअनुसार स्मिथलाई पोन्टिङलाई पछ्याउन कम्तीमा तीनदेखि चार वर्ष लाग्नेछ र यो सम्भव देखिन्छ पनि । यद्यपि सन् २०१८ को ‘स्यान्डपेपरगेट प्रकरण’ (दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनी बललाई खाक्सीले घोटेर खेल आफ्नो पक्षमा ल्याउने धाँधलीमा संलग्न भएका) कारण एक वर्षको प्रतिबन्धले उनले तेन्दुलकरको कीर्तिमान तोड्ने सम्भावना निकै कम छ । तर, स्मिथ १० हजार रन क्लबमा सबैभन्दा उच्च ब्याटिङ औसत राख्ने खेलाडी बन्न सक्छन् । हाल उनको औसत ५६.७४ छ जसलाई सांगाकाराको ५७.४ को औसतले मात्र उछिनेको छ । पछिल्ला पाँच टेस्ट खेलमा चार शतक प्रहार गरेका स्मिथको हालको लय हेर्दा कम्तीमा पनि ब्याटिङ औसतको सूचीमा शीर्ष स्थानमा रहेर मात्र उनले सन्न्यास लिनेछन् ।
(दास डाटा साइन्सका सह–प्राध्यापक हुन्, च्याडविक एफ्रो युरोसियन खेलका प्राध्यापक हुन् र अहमद मार्केटिङका वरिष्ठ लेक्चरर हुन्) द कन्भर्सेसनबाट