![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/3_pagekoo2025-02-12-07-58-48.jpeg)
इजरायल र प्यालेस्टाइनबिच युद्धविराम सम्झौता उल्लंघन भएको आपसी आरोप–प्रत्यारोपले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइ अनिश्चित हुने जोखिम देखिएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हमास समूहले सोमबार इजरायली बन्धकको रिहाइ रोक्ने घोषणा गरेपछि नयाँ परिस्थिति सिर्जना भएको हो । युद्धविरामपछि हमासले हालसम्म १६ इजरायली र पाँच थाई बन्धक तथा इजरायलले ५६६ प्यालेस्टाइनी कैदी रिहा गरेका छन् ।
इजरायल र प्यालेस्टाइनले एकअर्को कैदी मुक्त गर्ने मिति फेब्रुअरी १५ ( शनिबार) का लागि तय छ । जसअनुसार तीन इजरायली नागरिक हमासले रिहा गर्ने भनिएको थियो, तर हमासले रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म बन्धक नछाडे हमाससँग युद्धविराम अन्त्य गर्न इजरायललाई सुझाएपछि इजरायल–प्यालेस्टाइन युद्धविराम सम्झौतामा संकट आएको हो ।
बन्दी रिहाइको प्रक्रियामा नेपालले हमासको कब्जामा रहेका विपिन जोशीको मुक्ति हुने आशा गरेकोमा उनको रिहाइ अनिश्चित हुने त्रास बढेको छ । ‘हामी त्यस क्षेत्रको घटनाक्रम नजिकबाट नियालिरहेका छौँ । युद्धविराम कायम रहनेछ र विपिन जोशीको रिहाइ हुनेछ भन्नेमा आशावादी छौँ । हमास समूहको निकट मानिएका सबै कूटनीतिक च्यानलमा तीव्रतासाथ प्रयास गरिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने ।
हमासले युद्धविरामको सर्त पालना नगरेको इजरायलको आरोप छ । इजरायलले विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्काउन ढिलाइ गरेको तथा गाजापट्टीका धेरै क्षेत्रमा गोलाबारी जारी राखेको हमासले आरोप लगाएको छ । युद्धविराममा भएको सहायता आपूर्तिसम्बन्धी सम्झौताको पनि इजरायलबाट उल्लंघन भएको हमासको आरोप छ ।
इजरायली बन्धकहरूको रिहाइमा ढिलाइ गर्ने हमासको निर्णयप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । र, संयम अपनाउन दुवै पक्षलाई अनुरोध गरेको छ ।
युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई रिहा गरिने भनिएको थियो । हालसम्म १६ जना इजरायली बन्धक रिहा गरिएको छ । हमास समूहको नियन्त्रणमा रहेका १७ इजरायली बन्धकमध्ये आठजनाको मृत्यु भएको छ । हमासले अब ९ जना इजरायली रिहा गर्न बाँकी छ । हमासले पाँच थाई नागरिक पनि रिहा गरेको छ ।
हमास र इजरायलबिचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो । सम्झौताअनुसार युद्धविराम छ हप्ताको चरणमा डिजाइन गरिएको छ, जसमा सैन्य कारबाही रोक्ने र गाजाको पूर्ण शान्ति र पुनर्निर्माणतर्फ अघि बढ्ने भनिएको छ । युद्धविरामको तीन हप्तामा आधा मात्रै काम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अल जजिराका अनुसार इजरायलले अहिलेसम्म गाजामा ८ हजार ५०० ट्रक मात्र खाद्यान्न र आधारभूत सहायता वस्तुलाई अनुमति दिएको छ । जब कि युद्धविराम सर्तअनुसार यो संख्या १२ हजार ट्रक हुनुपर्थ्यो ।
आश्रयको सन्दर्भमा, पहिलो चरणमा २ लाख पाल तोकिएको छ । तर, अहिलेसम्म १० प्रतिशत मात्र अनुमति दिइएको छ । इजरायलले वचन दिएअनुसार ६० हजार मोबाइल घरमध्ये कुनै पनि पुगेको छैन ।
इजरायलले उत्तरी गाजामा विस्थापित मानिसलाई फिर्ता गर्न ढिलाइ गरेको, प्यालेस्टिनीलाई मारेको र भग्नावशेष हटाउन तथा शव फेला पार्न आवश्यक उपकरण प्रवेशमा बाधा पुर्याएको हमास समूहको आरोप छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा रहेका सबै इजरायली बन्दी शनिबारसम्म एकै समूहमा फिर्ता गर्न भनेका छन् । ‘यदि त्यसो भएन भने इजरायलले युद्धविराम रद्द गर्नुपर्छ,’ ट्रम्पको चेतावनी छ । शनिबारसम्म सबै बन्दी रिहा नगरिएमा सम्झौता रद्द गरिनुपर्छ भन्ने ट्रम्पको चेतावनीलाई हमासले खारेज गर्दै धम्कीको भाषा नमान्ने चेतावनी दिएको छ । यद्यपि, दोस्रो चरणको वार्ता गर्न इजरायली प्रतिनिधिमण्डल कतार पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।