मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
२o८१ माघ ३० बुधबार o७:४३:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकाले सय आप्रवासी भारत फर्काउँदा दश लाख डलर खर्च 

सैनिक विमान प्रयोगको ठुलो प्रचार हुने भए पनि यो निकै महँगो हुने देखिएको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार o७:४३:oo
  • कुल खर्च १०४ आप्रवासीमा भाग लगाउँदा प्रत्येकको भागमा १० हजार डलरजति पर्छ । व्यावसायिक एयरलाइन्समा सन फ्रान्सिस्कोबाट नयाँदिल्लीको एकतर्फी टिकट लगभग ५०० डलर वा बिजनेस क्लासमा चार हजार डलरमा किन्न सकिन्छ ।

ट्रम्प प्रशासनले कागजात नभएका अवैध आप्रवासीको निर्वासन गर्ने आफ्नो दृढ संकल्पलाई जोड दिन सैन्य विमान प्रयोग गर्न थालेको छ । तर, सैनिक विमान मिडियामा प्रसारका लागि राम्रो विकल्प भए पनि यसको प्रयोग निकै महँगो हुने देखिएको छ । एएफपी विश्लेषणका अनुसार हालै करिब सय आप्रवासीलाई भारत निर्वासन गर्न १० लाख डलर खर्च भयो । अर्थात्, आप्रवासी फिर्तीका लागि सैनिक विमानको खर्च नागरिक उडानको भन्दा तीन गुणा बढी हुने तथ्यांकले देखाउँछ ।

डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा ‘अमेरिकाको इतिहासकै’ सबैभन्दा ठुलो निर्वासन अभियान चलाउने वाचा गरेका थिए । राष्ट्रपति जितेपछि उनले वाचाप्रति प्रतिबद्ध रहेको देखाउने प्रयास गरिरहेका छन् । उसो त अमेरिकाबाट निष्कासन हुन सक्ने सम्भावित अवैध आप्रवासीको ठुलो हिस्सा ल्याटिन अमेरिकाका छन् । तथापि केही भने विश्वका सुदूर कुनाका समेत छन् ।

अमेरिकी सरकारको एक विज्ञप्तिअनुसार गत बुधबार (फेब्रुअरी ५मा) अमेरिकी वायुसेनाको एक कार्गो विमान भारतको अमृतसरमा अवतरण भयो । विमानमा अवैध रूपमा अमेरिका प्रवेश गरेका १०४ जना भारतीय नागरिक भएको अमेरिकी सरकारको विज्ञप्तिले बताएको थियो । 

एएफपीका फोटोग्राफरले खिचेका तस्बिरले त्यस दिन प्रयोग भएको विमान ‘सी–१७ ए ग्लोबमास्टर तृतीय’ भएको पाइएको छ । यो अमेरिकी सेना, तिनका सवारी साधन तथा रसदपानी ढुवानी गर्न सक्षम ठुलो प्रकृतिको सैन्य विमान हो । अमेरिकी वायुसेनाले ग्लोबमास्टरलाई सन् १९९५ मा सैन्य वाहनका रूपमा सूचीकृत गरेसँगै विश्वभरका धेरै सैन्य क्षेत्रमा प्रयोग गरिसकेको छ । यसबाट गरिने सैन्य उडान अवैध आप्रवासीको निष्कासनको ‘अध्यागमन र भन्सार प्रवर्तन (आइसिई)’ले आम प्रयोग गर्ने विधि चार्टर उडानभन्दा धेरै महँगो पर्ने देखिएको छ ।

सन् २०२१ मा आइसिईले जारी गरेको जानकारीअनुसार चार्टर उडानको लागत प्रतिघण्टा आठ हजार ५७७ डलर पर्छ, तथापि उच्च जोखिमयुक्त आप्रवासीलाई ढुवानी गर्दाको उडान खर्च भने केही बढी पर्छ । 

यता यातायात प्रयोजनका लागि सी–१७ को प्रयोगमा प्रतिघण्टा २८ हजार ५६२ शुल्क लगाइने अमेरिकी वायु सेनाको मोबिलिटी कमान्डले प्रकाशित गरेको दस्ताबेजले बताउँछ ।

सैन्य उडानले व्यावसायिक विमानले भन्दा फरक मार्ग प्रयोग गर्छन् । अन्य सार्वभौम देशको हवाई क्षेत्रमा सञ्चालन गर्दाको संवेदनशीलताका कारण यस्तो कदम उठाइन्छ । त्यस्तै तिनले इन्धन भर्दा सामान्यतया व्यावसायिक हबहरूको सट्टा सैन्य हवाई अड्डा प्रयोग गर्नुपर्छ । विमान उडानलाई ट्र्याकिङ गर्ने साइट फ्लाइटराडार २४ बाट प्राप्त तथ्यांकअनुसार भारतीय आप्रवासीलाई लिएर उडेको विमान फेब्रुअरी ५ मा क्यालिफोर्निया राज्यको सान डिएगोस्थित ‘मरिन कोप्र्स एयर स्टेसन मिरामार’बाट दिउँसो साढे एकमा उडेको थियो ।

त्यहाँबाट विमान पश्चिमतर्फ उड्यो । फिलिपिन्स नजिकैबाट यसले प्रशान्त महासागर पार गर्‍यो । त्यसपछि विमान इन्डोनेसिया र मलेसियाबिचको आकाशबाट अघि बढ्यो । दक्षिणमा हिन्द महासागरमा लामो घुमाउरो बाटो लिएर डिएगो गार्सियाको सानो टापुमा अवस्थित अमेरिकी हवाई अड्डातर्फ लाग्यो । त्यहाँबाट विमान हजारौँ किलोमिटर उत्तरमा अवस्थिति भारततर्फ उड्यो । भारतको स्थानीय समयअनुसार बुधबार (फेब्रुअरी ७ मा) दिउँसो उत्तरपश्चिमी भारतीय राज्य पन्जाबको विमानस्थलमा विमान अवतरण गर्‍यो । क्यालिफोर्नियाबाट उडान भरेको ४३ घण्टाभन्दापछि विमान पन्जाब ओर्लिएको थियो । 

विमानले अमेरिकी हवाई अड्डामा फर्कने दूरीको समेत हिसाब गर्दा यस हवाई यात्राको मोटामोटी अनुमानअनुसार पनि उडान लागत १० लाख डलरभन्दा बढी हुन आउँछ । यो रकम विमानमा रहेका प्रत्येक आप्रवासीमा भाग लगाउँदा १० हजार डलरभन्दा बढी हुन आउँछ । जबकि, व्यावसायिक एयरलाइन्समा सान् फ्रान्सिस्कोबाट नयाँदिल्लीको एकतर्फी टिकट लगभग ५०० डलर वा बिजनेस क्लासमा चार हजार डलरमा किन्न सकिन्छ ।

–एएफपीबाट