मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
२o८१ माघ ३० बुधबार o७:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२४औँ आहारारा गोल्डकप : थन्डर बोल्टलाई हराउँदै  ब्ल्याक बुल्स सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार o७:३७:oo

पहिलोपटक सहभागी भएको उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब २४औँ आहारारा पोखरा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार अन्तिम क्वार्टरफाइनलमा सिक्किमको थन्डर बोल्ट नर्थ युनाइटेड क्लबलाई ३–० ले हराउँदै ब्ल्याक बुल्सले अन्तिम चारको स्थान पक्का गरेको हो । फाइनल प्रवेशका लागि ब्ल्याक बुल्सले १ फागुनमा थ्री स्टार क्लबको सामना गर्नेछ । यसअघि प्रिक्वार्टरफाइनलमा थन्डर बोल्टले संकटा क्लबलाई ३–१ ले हराएको थियो । ब्ल्याक बुल्स सीधै बाई पाएर क्वार्टरफाइनमा पुगेको हो । 

दुई पाहुना क्लबले रक्षात्मक रणनीति अपनाएका थिए । मोफसलको गोल्डकपमा राम्रो अनुभव बटुलिरहेको थन्डर बोल्टले उज्वेकिस्तानको ब्ल्याक बुल्सविरुद्ध दबाब राख्न सकेन । ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । थन्डर बोल्टले ब्ल्याक बुल्सलाई ३७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । खेलको ३८औँ मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभले ब्ल्याक बुल्सलाई १–० को अग्रता दिलाए । उनले साभाकात्जोन सत्तरोभले दिएको पासमा डिबक्सभित्रबाट सहजै गोल गरे । 

थन्डर बोल्टको रक्षापंक्तिका खेलाडीहरूको सशक्त प्रदर्शनका कारण ब्ल्याक बुल्सले खेलको ७३औँ मिनेटमा दोस्रो गोल गर्‍यो । सायदजामोल दाभ्लाटजोनोभले ब्ल्याक बुल्सलाई २–० को अग्रता दिलाए । उनले साभाकात्जोनको पासमा गोल गरेका हुन् । सायदजामोल ६८औँ मिनेटमा मैदान छिरेका थिए । मैदान छिरेको पाँच मिनेटभित्र नै उनले गोल गरे । खेलको ७०औँ मिनेटामा ब्ल्याक बुल्स ३–० ले अघि रह्यो । साभाकात्जोनले पोस्टभन्दा २५ यार्ड टाढाबाट प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो । प्रतिस्पर्धामा ब्ल्याक बुल्सका अलिजोन अलिजोनभ म्यान अफ दी म्याच भए ।

सेमिफाइनलमा फरक रणनीति हुनेछ : अब्दुलाजिज, प्रशिक्षक, ब्ल्याक बुल्स 
पोखरामा पहिलोपटक आएर खेले पनि राम्रो भयो ।  खेलाडीले प्राप्त अवसरमा गोल गर्न सफल भए । सेमिफाइनलमा विपक्षीको स्तरअनुसार फरक रणनीतिका साथ प्रतिस्पर्धा गर्ने योजना बनाएको छु । यसअघि नेपालमा म जावलाखेलबाट ‘ए’ डिभिजन लिग खेल्न आएको थिएँ । 

खेलाडीबिच खासै तालमेल मिलेन  : छिरिङ भुटिया, थन्डर बोल्ट, प्रशिक्षक 
एकआपसमा पास पनि सहज रूपमा उपलब्ध हुन सकेन । हामीले बनाएका योजना मैदानमा लागू भएन । विपक्षी टोलीले हाम्रोभन्दा राम्रो खेल्यो । ब्ल्याक बुल्सविरुद्ध पहिलो प्रतिस्पर्धा हो । उनीहरूको खेल बुझ्न सकिएन । यसकारण खेलमा पराजित भएको हो । विशेष हाम्रो कमजोरी पक्ष फिनिसिङमा रह्यो ।