मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
२o८१ माघ २५ शुक्रबार o९:३१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गाउँब्लक जग्गाको स्रेस्ता प्रयोगको माग गर्दै आन्दोलन घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार o९:३१:oo

गाउँब्लक जग्गाको हक हस्तान्तरण, बिक्री र बैंक तथा वित्तीय संस्थामा राख्न मिल्ने गरी स्रेस्ता प्रयोगको माग गर्दै सिराहाको लहान क्षेत्रका पीडितले आन्दोलन घोषणा गरेका छन् ।

गाउँब्लक नगर संघर्ष समिति लहानले बिहीबार दिउँसो पत्रकार सम्मेलनमार्फत नगरको १ देखि २४ वडामध्ये जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएको वर्षौँ बित्दासमेत घरमा थन्क्याउनबाहेक केही नभएको गुनासो गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ । घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत आगामी आइतबारदेखि तीन दिनसम्म मसाल जुलुस, खबरदारी सभा र मालपोत कार्यालयमा कामकाज ठप्प गरिने समिति संयोजक अरुण केसीले बताए ।

‘विगतमा पनि पटक–पटक मालपोतलाई गाउँब्लक जग्गाको लालपुर्जा पाएका किसानहरूले पनि हक हस्तान्तरण, बिक्री, बैंक तथा वित्तीय संस्थामा राख्न सकिने गरी स्रेस्ता प्रयोगको पहल गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आएका छौँ,’ उनले भने, ‘त्यसबारे निरन्तर बेवास्ता गरिएपछि आन्दोलनमा जानुपरेको हो ।’ लहान– १९ सोनमती मझौराका जगदीशप्रसाद साहले आफ्नी आमाको नाममा ६ वर्षअघि लालपुर्जा पाएको पौने तीन कट्ठा गाउँब्लक जग्गा घरायसी कामका लागि ऋण झिक्न बैंकमा राख्न खोजेको भए पनि मालपोतले स्रेस्ता प्रयोग नगरेकाले समस्या भएको गुनासो गरे ।

लहानस्थित मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका नायब सुब्बा शिवकुमार यादवले नापी कार्यालयबाट प्राप्त भएको स्रेस्ता कम्प्युटरमा प्रविष्ट गर्न नपाउँदा समस्या भएको स्विकारे ।