सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपालाई ‘आइटी हब’का रूपमा विकास गराउने कार्यमा हातेमालो गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । सरकारले नीतिगत, कानुनी तथा पूर्वाधार संरचना निर्माण गरिदिने भन्दै उनले निजी क्षेत्रले खोज, अनुसन्धान, नवप्रवर्तन र उद्यम–व्यवसाय बढाएर नेपाललाई आइटी अबका रूपमा चिनाउनुपर्ने बताएका हुन् ।
काठमाडौंमा बिहीबारदेखि सुरु भएको सूचना प्रविधिको प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले आइटी पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । ‘आइटी क्षेत्रलाई नीतिगत, कानुनी र पूर्वाधार संरचना बनाउन हामी तयार छौँ,’ उनले भने, ‘तपाईंहरू मिहिनेत र हिम्मतका साथ काम गर्नुहोस्, नेपाललाई आइटी अअबका रूपमा चिनाऔँ ।’
सञ्चारमन्त्रीले सबै वडा कार्यालयसम्म ब्रोडब्यान्ड इन्टरनेट, देशभर फोरजी सेवा, आइटी पार्क, नलेज पार्क र आफ्नै स्याटेलाइट निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।
उक्त अवसरमा क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डेले नेपाललाई आइटी हबका रूपमा विकास गर्न निजी क्षेत्र तयार रहेको बताइन् । उनले पछिल्लो अध्यादेशले गरेको व्यवस्थालाई कार्यन्वयनका लागि अविलम्ब नियम तथा कार्यविधि बनाउन आग्रह गरिन् । उनले दश वर्षमा १५ लाख रोजगारी सिर्जना गर्न तथा ३० खर्बको आइटी निर्यात गर्ने सरकारी लक्ष्य कार्यान्वयनको कार्ययोजना बनाउनुपर्ने बताइन् ।
पूर्वाधार विकासमा अवरोध नगर्न महासंघ अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा आमनागरिकलाई आग्रह गरेका हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘क्यान इन्फोटेकको ३०औँ संस्करणको उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष ढकालले विकासविरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने बताए ।
सरकारले आर्थिक विकासका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्दर्भमा पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधि खेदजनक रहेको उनले बताए ।
पाथीभरा केबुलकार परियोजनाबारे पछिल्ला समय भइरहेका विरोध तथा टिप्पणीप्रति लक्षित गर्दै उनले भने, ‘एकातिर हामीले विकासका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा गरिरहेका छौँ, अर्कोतर्फ पूर्वाधार विकासमा भइरहेका लगानीलाई विभिन्न बहानामा रोक्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छौँ । यसबाट लगानीको वातावारण मात्रै बिग्रिने होइन, स्वदेशमै रोजगारी सिर्जना गर्ने र रोजगारीका लागि विदेसिएका युवालाई नेपालमै रोक्ने अभियानलाई समेत अवरोध गरेका छौँ ।’
उनले सोही केबुलकारको विषयलाई लिएर नेपालको बैंक तथा वित्तीय संस्थालाई समेत अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता गतिविधिले आन्तरिक तथा बाह्य लगानीलाई निरुत्साहित गर्ने धारणा राखे ।