![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/rabi-lamichane2025-01-08-06-31-59.jpeg)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गर्न महान्यायाधिवक्ता कार्यालयले थप तीन जिल्लाबाट चितवनमा सरकारी वकिल खटाएको छ । चितवनमा पर्याप्त सरकारी वकिल भए पनि पर्सा, बारा र धादिङबाट सरकारी वकिलका प्रमुखहरूलाई नै चितवन पठाइएको छ ।
चितवनको साहारा चितवन सहकारीको रकम अपचलनमा प्रतिवादी रहेका लामिछाने बुधबार जिल्ला अदालतमा उपस्थित भएका थिए । बुधबार बयान भएकोमा बिहीबारदेखि बहस सुरु भएको छ । जसका लागि महान्यायाधिवक्ता कार्यालयले ठुलो संख्यामा सरकारी वकिल खटाएको हो ।
पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला, बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत र धादिङका दशरथ पंगेनीलाई चितवन अदालतमा खटाइएको छ ।
चितवनमा लामिछानेविरुद्ध ठगीको मुद्दा मात्र दायर गरिएको छ । उनलाई संगठित अपराध मुद्दा नचलाएको भन्दै जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई मंगलबार नै हटाएर रवि न्यौपानेको सरुवा गरिएको थियो । न्यौपानेसहित चितवनबाट समेत चारजना सरकारी वकिलले बहस गर्दै छन् ।
बहस सकिए आजै थुनछेक आदेश आउनेछ।