![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/aaglagi-bedkot2025-02-06-12-57-11.jpeg)
कञ्चनपुरको एक निर्माण कम्पनीको गोदाममा आगलागी भएको छ। बेदकोट नगरपालिका– ६ मुसेपानीस्थित भवानी कालिका कन्स्ट्रक्सन प्रालिको गोदाममा आगलागी भएको हो।
गएराति विद्युत् सर्ट भई गोदाममा आगो लागेको कञ्चनपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले गोदाममा रहेका विभिन्न निर्माण सामग्री नष्ट भएको बताए।
भवानी कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक हर्क मल्लका अनुसार गोदाममा रहेको सिमेन्ट, प्लाइबोर्ड, रबलसिल, टायर क्रसर पट्टा, इन्जिन आयल, डिजेल, पेट्रोल, टायर, सेप्टिफ्रेम, जोइन्ट फिलर, हाइड्रोलिकलगायतका सामान नष्ट हुँदा झन्डै एक करोडभन्दा बढीको क्षति भएको छ।
महाकाली सिँचाइ तेस्रो चरण नहर निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिको गोदाममा आगो लागेर सामान नष्ट भएपछि नियमित काममा समेत प्रभाव परेको छ। ‘गोदामछेउमै स्टाफहरू बस्ने क्वाटर छ, एकजना स्टाफ पिसाब फेर्न बाहिर आएपछि गोदाममा आगो लागेको थाहा भयो,’ मल्लले भने, ‘छेउमै रहेका अन्य सवारीसाधन पनि जल्ने रहेछन्, छिनमै अन्यन्त्र सार्दा सवारीसाधनमा ठुलो क्षति हुन पाएन।’
कम्पनीका कर्मचारी, स्थानीय एवं भीमदत्त र बेदकोट नगरपालिकाबाट आएका दमकलले आगो निभाएका थिए। बेदकोट नगरका फायरमेन विनोद रैकालसहितको टोलीले तेस्रोपटक दमकल भरेर बाँकी रहेको आगो बिहान निभाएका छन्।