मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
समाचार प्रिन्ट संस्करण

माओवादीले कचनकवलबाट संगठन सुदृढीकरण अभियान सुरु गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार o७:२२:oo

माओवादीले झापाको कचनकवलबाट हुलाकी राजमार्गकेन्द्रित संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ । जनतातिर फर्किने नीतिअनुसार अभियान सञ्चालन गर्न लागेको माओवादीले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले १२ फागुनदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत २१–२३ पुसमा काठमाडौंमा बसेको केन्द्रीय कमिटीको छैटौँ पूर्ण बैठकले हुलाकी र पूर्व–पश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । चैतभर तयारी गरेर वैशाखमा हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।

पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजनसमेत गरेको छ । महासचिवभन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मा नलिने नीतिगत निर्णय माओवादीले गरेको छ । सोही आधारमा उपमहासचिवसम्मका नेतालाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपमहासचिवहरू हरिबोल गजुरेल कोशी, मातृका यादव मधेश र गिरिराजमणि पोखरेलले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

सचिवहरू हितमान शाक्य बागमती, दिनानाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी र राम कार्कीले युरोप–अमेरिकाको इन्चार्जको जिम्मेवारी पाएका छन् । स्थायी कमिटी सदस्यहरू कालीबहादुर मल्ल कर्णाली र जयपुरी घर्तीलाई विशेष प्रदेशको इन्चार्ज तोकिएको छ । सार्क समितिमा लक्ष्मण पन्त र प्रवास एसिया समितिमा ओम शर्माले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

पूर्वउपराष्ट्रपति पुनलाई जिम्मेवारी दिने तयारी
माओवादी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उत्पादन हेर्ने गरी जिम्मेवारी दिनेबारे छलफल भएको छ । एक पदाधिकारीका अनुसार पुनले उत्पादन हेर्ने इच्छा राखेका छन् । नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोड्ने गरी जिम्मेवारी लिन खोजेको उनले बताएका छन् ।