एकपटक संस्कृत साहित्यका महाकवि कालिदास एउटी महिलाको आँगनमा पुगे । उनी निकै तिर्खाएका थिए । उनले आफूलाई पानी दिन महिलासित याचना गरे । महिलाले भनिन्– म तिमीलाई चिन्दिनँ, पहिले आफ्नो परिचय देऊ । अनि मात्र पानी दिउँला । कालिदासले भने– म यात्री हुँ । महिलाले अचम्म मान्दै प्रश्न गरिन्– तिमी कसरी यात्री हुन सक्छौ ? यात्री त कहिल्यै नरोकिई हमेसा चलिरहने सूर्य र चन्द्रमा मात्र हुन् । साँचो बताऊ, तिमी को हौ ? कालिदासले भने– म पाहुना हुँ । ‘संसारमा धन र यौवन मात्र हुन् पाहुना । यिनलाई जान समय लाग्दैन,’ महिलाले भनिन् ।
कालिदासले भने– म सहनशील हुँ, अब त पानी दिनुहोस् । महिलाले भनिन्– नाइँ, सहनशील त पापी र धर्मात्मा सबैको बोझ सहने धर्ती र पत्थरले हिर्काए पनि मिठो फल दिने रुख मात्र हुन् । साँच्चै भन, को हौ तिमी ? कालिदासले जवाफ दिए– म हठी हुँ । महिलाले भनिन्– फेरि झुट बोल्यौ, हठी जति काटे पनि बढिरहने नङ र कपाल मात्र हुन् । सत्य बोल, को हौ तिमी ? कालिदासले भने– म मूर्ख हुँ । महिलाले भनिन्– होइन, मूर्ख त विनायोग्यता सबैमाथि शासन गर्ने र उसलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध गराउने चेष्टा गर्ने उनका सल्लाहकार मात्र हुन् । अनि तिमी किसरी मूर्ख हुन सक्छौ ?
आफ्नो फरक–फरक परिचय दिएका कारण कालिदासले महिलाको गोडा समाउँदै भने– माता म कालिदास हुँ । महिलाले खुसी हुँदै भनिन्– उठ कालिदास । म सरस्वती हुँ । साँच्चै त्यहाँ साक्षात् सरस्वती माता थिइन् । सरस्वती माताले भनिन्– शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार । तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकार देखायौ । तिम्रो ज्ञानचक्षु खोल्न मैले यो नाटक गरेकी हुँ । कालिदासले माता सरस्वतीसित माफी मागे ।