राजस्व क्षमताअनुसार प्रदेशको पनि वर्गीकरण, २० देखि ८० प्रतिशतसम्म संघको समपूरक अनुदान
अब संघीय सरकारले स्थानीय तहहरूलाई सातवटा श्रेणीमा विभाजन गरेर समपूरक अनुदान हस्तान्तरण गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले स्थानीय सरकारलाई आन्तरिक राजस्व सम्भावित सूचकांक तयार गरी सानोदेखि ठुलो आकार हुने गरी सात भागमा विभाजन गर्ने भएको हो । जसअनुसार क, ख, ग, घ, ङ, च र छमा स्थानीय तहहरूलाई वर्गीकरण गरिएको छ ।
‘क’ वर्गका स्थानीय तहहरूलाई संघीय सरकारले अधिकतम ८० प्रतिशत समपूरक अनुदान हस्तान्तरण गर्नेछ भने ‘छ’ वर्गका स्थानीय तहहरूलाई अधिकत २० प्रतिशत अनुदान दिनेछ । अधिकतम ८० प्रतिशत अनुदान पाउने स्थानीय तहले न्यूनतम २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेछ भने अधिकतम २० प्रतिशत पाउने स्थानीय तहले न्यूनतम ८० प्रतिशत विनियोजन गर्नुपर्नेछ ।
सबै स्थानीय तहको सूचकांक निर्माण गर्दा शून्यको नजिकदेखि २९ सम्म रहेको पाइएको आयोगले जानकारी दिएको छ । आयोगले स्रोतको वितरणलाई समान बनाउनका लागि नयाँ प्रणाली लागू गरेको जनाएको छ ।
आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले यो प्रणाली लागू हुँदा समानता र वित्तीय संघीयता कार्यान्वयनमा मुख्य प्रभाव परेको बताए । उनले भने, ‘यस प्रणालीमा स्थानीय तह र प्रदेशहरूलाई उनीहरूको राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारका आधारमा श्रेणीकरण गरिएको छ । स्रोत वितरण गर्दा यो श्रेणीकरणलाई आधार मानिन्छ । जसले गर्दा स्रोतमा गरिब पालिकाहरूले संघीय सरकारबाट समपूरक अनुदान तुलनात्मक रूपमा बढी हिस्सा पाउँछन् ।’
वित्तीय संघीयताको दृष्टिले स्रोत परिचालनका आधारमा स्थानीय सरकारहरूको स्वतन्त्रताको स्तरलाई सूचकांकमार्फत प्रस्तुत गरिएको उनको भनाइ छ । यो प्रणालीको मार्गनिर्देशनले मानव विकास, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिमा प्राथमिकता दिने उनले बताए । उनले भने, ‘यस प्रणालीले स्रोतमा समतामूलक पहुँच सुनिश्चित गर्दै देशभर वित्तीय संघीयतालाई सुदृढ गर्न मद्दत गर्नेछ ।’
राजस्व क्षमताअनुसार प्रदेशको वर्गीकरण
आयोगले आर्थिक, सामाजिक, पूर्वाधार अवस्था र राजस्व क्षमताअनुसार प्रदेशको पनि वर्गीकरण गरेको छ । जसअनुसार कर्णाली प्रदेशले संघबाट अधिकतम प्राप्त गर्ने वित्तीय हस्तान्तरणको अनुदान बढी पाउने भएको छ । कर्णालीले संघबाट अधिकतम ७० प्रतिशत अनुदान पाउने भएको छ । जसअनुसार कर्णालीले ३० प्रतिशत न्यूनतम विनियोजन गर्नुपर्ने हुन्छ । संघबाट सुदूरपश्चिमले ६५ प्रतिशत, मधेशले ६० प्रतिशत, गण्डकीले ५० प्रतिशत, लुम्बिनीले ५० प्रतिशत, कोशीले ५० प्रतिशत र बागमतीले ४० प्रतिशत पाउने उल्लेख छ ।
१६औँ योजना कार्यान्वयन कार्ययोजना बन्दै
आयोगले १६औँ योजना कार्यान्वयन गर्न कार्ययोजना तयार गरिरहेको छ । १६औँ योजना संकेतात्मक र विषयगत भएकाले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरिएको आयोगले जानकारी दिएको छ । तर, यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको आयोगका उपाध्यक्ष अधिकारीको भनाइ छ ।
आयोगले विषयगत र क्षेत्रगत नीति तथा कार्यक्रमबिचको सम्भावित सम्बन्धलाई विश्लेषण गर्दै समन्वयात्मक अतिरिक्त लाभ (सिनर्जी) र विरोधाभास (ट्रेड–अफ्स)हरू पहिचान गरेको उनले बताए । समन्वयात्मक अतिरिक्त लाभ र विरोधाभास योजना र नीति–निर्माणमा महत्वपूर्ण अवधारणा भएको उनको भनाइ छ ।
उनले भने, ‘सिनर्जीको पहिचानबाट के प्रस्ट हुन्छ भने केही कार्यक्रम र नीतिहरूले एक–अर्कालाई समर्थन मात्र गर्दैनन्, अतिरिक्त फाइदा पनि सिर्जना गर्न सक्छन् । रोजगारी सिर्जना, आर्थिक गतिविधिमा वृद्धि, समग्र आर्थिक वृद्धिमा सिनर्जीको ठुलो भूमिका हुन सक्छ । समन्वयात्मक अतिरिक्त लाभको सही उपयोगले मन्त्रालयबीचका कार्यक्रमको स्वामित्व र साझेदारीलाई बलियो बनाउँछ । जसले कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउँछ ।’
विरोधाभासको पहिचानले नीति एवं कार्यक्रमबिच रहेको सम्भावित विरोधाभासलाई न्यूनीकरण गर्न मद्दत गर्ने उनको भनाइ छ । कतिपय अवस्थामा एउटा मन्त्रालयको नीति वा कार्यक्रमले अर्को मन्त्रालयको लक्ष्यलाई बाधा पुर्याउने जोखिम रहेकाले यस किसिमका प्रयासले नीतिहरू र कार्यक्रमको समन्वय सुनिश्चित गर्छ, जसले गर्दा कार्यान्वयन प्रक्रिया सहज र प्रभावकारी बन्ने उनको भनाइ छ ।
योजना आयोगले १६औँ विकास योजनाको कार्यान्वयन कार्ययोजना तयार गर्दा दिगो विकास लक्ष्यको स्थानीयकरण र अतिकम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रियालाई प्राथमिकताका साथ समेटेको आयोगले जानकारी दिएको छ । यी तीनवटा दस्ताबेज १६औँ विकास योजना, एसडिजी र एलडिसी प्राजुएसन अलग–अलग रूपमा मात्र कार्यान्वयन नहुने उल्लेख गर्दै यी परस्पर अन्तरक्रियात्मक छन् र एक–अर्कालाई सहयोग गर्ने गरी विकसित गरिएको छ र कार्यान्वयनमा लागिएको आयोगले जनाएको छ ।
आयोजना बैंकको मापदण्ड संशोधन गर्दै आयोग
योजना आयोगले आयोजना बैंकलाई व्यवस्थित बनाउन बैंकको मापदण्ड संशोधन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । परियोजनाहरूको संख्या अत्यधिक धेरै हुने र स्रोत–साधन छरिएर रहने अवस्थामा साधनको कुशल उपयोग कायम गर्न कठिनाइ सिर्जना गरिरहेको उल्लेख गरेको छ । आयोजनाहरू स्पष्ट रूपमा परिभाषित नभएकाले अधिकांश क्रियाकलाप परियोजना बैंकमा सूचीकृत गरिएका छन्, तर तीमध्ये परियोजनाहरू विनातयारी समावेश गरिएका छन् । यसले परियोजनाहरूको संख्या अनावश्यक रूपमा बढाएको आयोगको निष्कर्ष छ ।